काठमाडौ /
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नं ८ खुर्सानेमा भएको सवारी दुर्घटनमा ६ जनाको ज्यान गएको छ।
रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर खुसार्ने जाँदै गरेको यात्रुबहाक बस खुसार्ने पुग्नै लाग्दा राति साढे ९ बजे मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो। ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा खुर्साने गाउँका ६ जना महिलाको ज्यान गएको छ। दर्घटनामा खुसार्ने गाउँका खेमकुमारी राना, निर्मला घिमिरे, सुरुमा घिमिरे, कमला खत्री, दानकुमारी खत्री र गुनी गाहाको ज्यान गएको वडा नं. ८ का वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए। मृतक सबै खुर्साने गाउँका हुन् ।
मृतकमध्ये तीन जनाको शव बाहिर निकालिएको छ भने ३ जना बसले च्यापेको अवस्थामा छन् ।बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको छ।
पाल्पा र रुपन्देहीका प्रहरी तथा स्थानीयले उद्धारको कार्य जारी राखेको स्थनीय प्रहरी चौकी जुठापौवाका वरिष्ठ हवल्दार लिलाबहादुर केसीले जानकारी दिए। दुर्घटनामा घाइते भएका अन्य १८ जनालाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएको वडाअध्यक्ष रानाले बताए। घटनास्थल रुपन्देहीको सालझण्डीदेखि करिब १० किलोमिटरको दुरीमा पर्दछ ।
