नुवाकोट /
हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव यही कार्यकालमा सांसद बन्ने प्रयासमा लागेका छन्।
संघीय संसद्का दुई सदनमध्ये उपेन्द्र यादवले पहिलो प्राथमिकता प्रतिनिधिसभालाई नै दिएका छन्। प्रतिनिधिसभामा सम्भव नभएको खण्डमा राष्ट्रियसभामा आउने उनको योजना छ ।


सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका उपेन्द्र यादव संसद्को यही कार्यकालमा सांसद बन्न प्रयासरत देखिएका हुन् ।प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन बिना अर्को विकल्प छैन । उक्त विकल्पका लागि कुनै निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको खण्डमा मात्र सम्भव हुन्छ । तर, उपनिर्वाचन गराउनका लागि सांसद पद रिक्त हुनु पर्दछ ।
सांसद पद रिक्त गराउनका लागि नै जसपा अध्यक्ष यादवले आफ्नो पार्टीलाई सत्ता गठबन्धनले उपराष्ट्रपति पद दिनुपर्ने माग गरिरहेका छन् ।उपराष्ट्रपति पद जसपा नेपाललाई दिएको खण्डमा सो पार्टीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामसहाय यादव र नवलकिशोर साहमध्ये कोही एक जनालाई उपराष्ट्रपति बनाउने र प्रतिनिधिसभा सदस्यको रिक्त पदमा उपनिर्वाचन गराएर आफू संसद्मा प्रवेश गर्ने उनको योजना रहेको निकटस्थहरू बताउँछन् ।
सप्तरी १ बाट चुनाव जितेका नवलकिशोर साहले यस विषयमा उपेन्द्र यादवसँग कुराकानी पनि गरिसकेका छन् ।मधेस प्रदेशका मन्त्री समेत रहेका नवलकिशोर साह निकट एक नेताले भने, ‘मन्त्री (नवलकिशोर)ज्यूले अध्यक्ष उपेन्द्र यादवलाई भनेर मलाई उपराष्ट्रपति बनाउनुस्, सप्तरी–१ बाट चुनाव जिताउने मेरो जिम्मा भन्नुभएको छ ।’
सो प्रस्तावमा उपेन्द्र यादवले तत्कालै कुनै प्रतिक्रिया नजनाए पनि उनलाई सप्तरीभन्दा बारा–२ नै मन परेको छ। बारा–२ बाट रामसहाय यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर सो क्षेत्रमा आफू चुनाव लडेर संसद्मा आउने उपेन्द्र यादवको तयारी छ। यद्यपि उपराष्ट्रपति पद जसपाले पाउँछ कि पाउँदैन भन्ने टुङ्गो लागिसकेको छैन।रासस
