नुवाकोट /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सन्देश बोकेर वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रचण्डलाई भेटेको खुलासा भएको छ। उनले गठबन्धन तोडेर आए नयाँ सरकारको नेतृत्वमा एमालेले प्रचण्डलाई सघाउने वचन दिएको बुझिएको छ ।
यद्धपी यो विषयमा दुवै दलका नेताहरुले अहिलेसम्म मुख खोलेका छैनन् ।यसअघि दाहालले एमालेसँगको सहकार्यको लागि महासचिव देवप्रसाद गुरुङलाई दूत बनाएर ओली निवासमा पठाईसकेका छन्। गुरुङले पनि आफूहरुबीच राजनीतिक विषयमा छलफल नभएको स्पष्ट पारेका छन् ।
एमाले–माओवादी सहकार्यको ठोस प्रस्ताव लिएर यसअघि नै एमाले सचिव रघुवीर महासेठले दाहालसँग खुमलटारमा दुई घण्टा लामो छलफल गरेका थिए। ०७४ मा वाम गठबन्धनको सहमतिपनि उनै महासेठको निवासमा बसेर ओली र दाहालले गरेका थिए ।महासेठले दाहालसँग गरेको भेटवार्तालाई कांग्रेसलेपनि अर्थपूर्ण रुपमा लिएको छ ।
कांग्रेसले पहिलो चरणमा सरकारको नेतृत्व गर्न दाहाललाई नदिने भएपछि नै दाहालले पनि एमालेसँग सहकार्यको लागि हात अघि बढाएका छन् ।एमाले अध्यक्ष ओली पनि अहिले रहस्यमयी तवरले मौन छन् ।नेपालका वामपन्थीहरु छरिएर बस्दा जनमत कांग्रेसको पक्षमा पुग्ने देखेपछि नेतृत्वले गम्भीर समिक्षा गरेर एकता र सहकार्यको लागि तयार हुने अवस्था देखिएको एमाले–माओवादीका दोस्रो तहका नेताहरुको भनाई छ ।
कांग्रेस छोडेर स्वतन्त्रबाट चुनाव जितेका डा. अमरेशकुमार सिंहले पनि कांग्रेसले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री नबनाए वर्तमान गठबन्धन टुट्ने भविष्यवाणी गरेका छन् ।आजको प्राइम सम्वादमा कुरा गर्दै सिंहले भनेका छन्–‘प्रचण्डलाई प्रधानमन्त्री नदिए गठबन्धन बच्दैन् ।गठबन्धन बचाउनको लागि पनि प्रचण्डलाई प्रधानमन्त्री बनाउनुपर्छ । यति कुरा म भन्न सक्छु ।’ उनले ओली, प्रचण्ड र माधव नेपाल पनि एक हुने खुलासा गरेका छन् ।
एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, जनमोर्चा, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरु मिलाएर नयाँ सरकार गठनको लागि पहल भैरहेको छ ।एमालेको राजनीतिक स्पेसको लागि पनि गठबन्धन टुटाउने एमालेको प्रयत्न हुने सिंहको भनाई छ ।