नुवाकोट /
जापानको नागोयामा एक नेपाली विद्यार्थीको असामयिक निधन भएको छ ।अध्ययनका लागि ६ महिना अघि आएका नेपाल नुवाकोट जिल्ला बेलकोटगढि नगरपालिका मदानपुर घर भएका २७ बर्षका नवराज वाग्लेको आफ्नै कोठामा सुतेको अवस्थामा निधन भएको हो ।
नागोयामा रहेको आईचि इन्टरनेशनल एकेडेमीमा ६ महिना अघि विद्यार्थी भिषामा आएका वाग्ले आफ्नै भाइसँगै एउटै कोठामा बस्दै आएका थिए । शुक्रबार साँझको काम गरेर फर्किएपछि साथी र भाइ जयराम वाग्लेसँगै खाना खाएर फुटबल हेरेर नवराज सुतेका थिए । शनिवार दिउँसो काममा जाने बेला अघिसम्म नउठेपछि उनको भाइ र साथीले उठाउन खोज्दा अचेत पाइएपछि तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएको थियो ।
जापान उच्च शिक्षा अध्ययनका लागि आएको ६ महिना पनि नबित्दै अल्पायुमै असामयिक रुपमा निधन हुन पुगेका नवराज वाग्लेको जापानमा नै दाह संस्कार गरिने भएको छ ।दाह संस्कार सोमबार नागोया स्थित मिनातो कुमामा गर्ने तयारी गरिएको छ ।
परिवारको सहमतीमा शव जापानमा नै जलाउने तयारी गरिएको सँगै रहनुभएका नुवाकोटका जनक रिजालले जानकारी दिनुभयो । अन्तिम दाहसंस्कार सोमबार दिनको करिव ३ बजेको समयमा गर्न लागिएको बताइएको छ ।
