
नुवाकोट /
प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचन अन्तर्गत बुधबारसम्म १ सय ६१ क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ। जसमा कांग्रेस सबैभन्दा धेरै ५४ स्थानको नतिजा आफ्नो पक्षमा पार्दै पहिलो दल बन्न पुगेको छ। प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पनि कांग्रेस ठुलो दल बन्न पुगेको छ। सातै प्रदेशका ३ सय ३० निर्वाचन क्षेत्रमध्ये बुधबारसम्म ३ सय २४ स्थानको मतगणना सकिएको छ। जसमा कांग्रेसले सबैभन्दा धेरै १ सय ५ क्षेत्रमा जितेको छ।
घोषित परिणाम अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एमाले दोस्रो स्थानमा छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ कांग्रेसले भन्दा एक लाख बढी मत ल्याएको एमालेले प्रत्यक्षतर्फ ४४ सिट जितेको छ। उसले प्रदेशसभा प्रत्यक्षतर्फ ९० क्षेत्रमा जित निकालेको छ।
माओवादी केन्द्र प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिक दुवैमा तेस्रो स्थानमा छ। उसले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा १७ र प्रदेशसभामा ५३ सिट जितेको छ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ सात सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिकतर्फ भने माओवादी केन्द्रलाई पछ्याउँदै चौथो स्थानमा छ। उसले प्रदेशसभा सदस्य निर्वाचनमा भने उम्मेदवारी दिएको थिएन।
त्यस्तै नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले प्रत्यक्ष निर्वाचनअन्तर्गत प्रतिनिधिसभातर्फ १० र प्रदेशसभातर्फ १४ स्थानमा जित निकालेको छ। उसले प्रतिनिधिसभा समानुपातिकतर्फ ३ प्रतिशत मत ल्याउँछ या ल्याउँदैन अझै निश्चित भएको छैन। जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधिसभाका सातसात क्षेत्रमा जित निकालेका छन्। राप्रपाले प्रदेशसभा सदस्यतर्फ ११ क्षेत्र जितेको छ। प्रतिनिधिसभा समानुपातिक मतमा भने राप्रपा पाँचौं स्थानमा छ। जसपाले प्रत्यक्ष निर्वाचनमा प्रदेशसभातर्फ १० सिट जितेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ भने जसपा छैटौं स्थानमा छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्ष अन्तर्गत प्रतिनिधिसभामा ४ र प्रदेशसभामा ९ सिट जितेको छ। प्रतिनिधिसभा समानुपातिकतर्फ लोसपा अहिलेसम्म दसौं स्थानमा छ।
नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभामा ५ सिट जितेको छ। ऊ प्रतिनिधिसभा समानुपातिक मतमा नवौं स्थानमा छ। प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधिसभातर्फ एक स्थानमा जितेको जनमत पार्टीले प्रदेशसभामा ७ सिट सुरक्षित गरेको छ। उसले राष्ट्रिय मान्यता प्राप्त गर्न समानुपातिकतर्फ पनि आवश्यक मत पाउने देखिन्छ। प्रतिनिधिसभा समानुपातिकतर्फ जनमत पार्टी अहिले सातौं स्थानमा छ।
प्रत्यक्ष निर्वाचनअन्तर्गत राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले प्रतिनिधिसभामा १/१ सिट जितेका छन्। नेपाल प्रतिनिधिसभा समानुपातिक मतमा मजदुर किसान पार्टी एघारौं र राष्ट्रिय जनमोर्चा १३औं स्थानमा छन्। स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा पाँच र प्रदेशसभा सदस्यमा १२ जना निर्वाचित भएका छन्।