काठमाडौ /
सुदूरपश्चिममा पाँच घण्टाको अन्तरालमा ६ पटक भूकम्पको धक्का महसुस गरिएको छ। घरमा सुतिरहेको अवस्थामा बिहानको भूकम्पका कारण घरहरू भत्किएर मानवीय क्षति समेत भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डोटी भूकम्पमा परेर तीन जनाको मृत्यु भएको छ। जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नं ३ गैरागाउँका पदम बोहराको घर भत्किदा तीन जनाको मृत्यु भएको हो। पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले दिएको जानकारी अनुसार भत्किएको घरमा च्यापिएको अवस्थामा एक महिला र दुई बालबालिका गरी तीन जनाको शव भेटिएको छ ।
खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएको ५.७ म्याग्निच्युटको भूकम्प मंगलबार राती ९ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। त्यस्तै बुधबार बिहान २ बजेर १३ मिनेटमा खप्तड क्षेत्रमा केन्द्रविन्दु भएर ६.६ म्याग्निच्युटको भूकम्प गएको थियो।