काठमाडौँ /
महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथु नारायणको जात्रा सम्पन्न गरिएको छ ।प्रत्येक वर्ष कोजाग्रत पूर्णिमापछि गरिने यो जात्रा यस क्षेत्रको प्राचीन मौलिक संस्कृतिका रुपमा मानिँदै आएको छ।

जात्राका क्रममा सोमबार हाँडीगाउँ, विशालनगर र गहनापोखरी क्षेत्रमा रथयात्रा गरिएको छ ।

तीननारायण एवं ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा यस क्षेत्रको प्राचीन जात्रा मानिन्छ। देशका अन्य स्थानमा हुने जात्रा खटको गजुर उल्टो नपारी गरिने र यहाँको नारायण जात्रा भने उल्टो पारेर गरिने भएकाले कहीँ नभएको जात्रा भन्ने गरिएको हो ।

चोकेटनारायण समेत भनिने चोक्काथुनारायणको नाममा गुठी जग्गा राखी जात्रा चलाउने व्यवस्था गरिएको थियो ।गुठी संस्थानको लगतमा चोक्काथुनारायण एवं तीननारायणका नाममा गुठी जग्गा राखिएको छ ।

मन्दिरको ढोकामा रहेको नेवारी भाषाको अभिलेखअनुसार राजा नरेन्द्र मल्लको पालादेखि यो जात्रा सुरु भएको हो। चोक्काथुनारायणको मन्दिर बूढानीलकण्ठबाट ल्याई यहाँ स्थापना गरिएको ‘हाँडीगाउँ :एक परिक्रमा’ पुस्तकका लेखक एवं यस क्षेत्रको सांस्कृतिक परम्पराका बारेमा अध्ययन गरिरहनुभएका यज्ञनाथ आचार्यले बताउनुभयो ।

जात्राका त्रममा बुधबार मूर्तिलाई पुजारी घरमा राखिन्छ ।यसपछि यो जात्रा समाप्त हुन्छ। कार्तिक कृष्ण प्रतिपदादेखि तृतीयासम्म यस क्षेत्रमा कहीँ नभएको जात्रा गर्ने चलन छ ।(रासस)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय