नुवाकोटमा ७५ वर्षिय वृद्धदेखि २६ वर्षिय युवासम्म चुनावी मैदानमा

ताजा समाचार राजनीति वागमती

नुवाकोट /
जिल्लामा आगामी मंसिर ४ गते हुने आमनिर्वाचनका लागि ७५ वर्षका वृद्धदेखि २६ वर्षका युवासम्म चुनावी मैदानमा होमिएका छन ।नेपाली कांग्रेसका नेता ७५ वर्षका वृद्ध अर्जुननरसिंह केसीदेखि २६ वर्षका स्वतन्त्र उम्मेदवार विनोद तामाङसम्म चुनावी मैदानमा उत्रिएका छन ।

७० कटेका मात्रै दुई जना जेष्ठ नागरिक उम्मेदवार बनेका छन ।केसीसहित ७२ वर्षका रामप्रसाद ढुंगाना चुनावी मैदानामा उत्रिएका हुन ।

प्रतिनिधिसभातर्फ दुईवटा निर्वाचन क्षेत्रमा २९ र प्रदेश सभातर्फको चारवटा निर्वाचन क्षेत्रमा ३७ जनाले आइतबार मनोनयन दर्ता गराएका छन् ।प्रतिनिधिसभा र प्रदेशसभाको छ पदको लागि कूल ६६ उम्मेदवारले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नं १ मा १८ जनाले मनोनयन दर्ता गराएका छन् । क्षेत्र नं १ को प्रदेश–१ तर्फ सातजना र प्रदेश–२तर्फ दश जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रतिनिधिसभातर्फ नुवाकोटको दुईवटै निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनको नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले साझा उम्मेदवार उठाएर मनोनयन दर्ता गराएका छन् ।

अन्य पार्टी र स्वतन्त्र उम्मेदवारसमेत गरेर कूल १८ जनाको मनोनयन दर्ता भएको छ ।नेकपा (एमाले)का तर्फबाट पार्टीका जिल्ला अध्यक्ष एवं पूर्व प्रदेश सांसद बद्री मैनालीको उम्मेदवारी दर्ता भएको छ भने सत्तारुढ गठबन्धनका तर्फबाट क्षेत्र नं १ मा पूर्व सांसद तथा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङको उम्मेदवारी दर्ता भएको छ ।

त्यस्तै क्षेत्र नं १ को प्रदेश–क तर्फ सात उम्मेदवारले मनोनयन दर्ता गराएका छन । नेकपा (एमाले)ले गत स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस त्यागेर पाटी प्रवेश गरेका सुशील खड्कालाई उम्मेदवार बनाएको छ। सत्तारुढ गबठन्धनका तर्फबाट साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रले बागमती प्रदेशसभाका पूर्वउपसभामुख तथा पूर्वकृषि विकास राज्यमन्त्री राधिका तामाङलाई उठाएको छ। त्यस्तै प्रदेश ख मा एमालेले पूर्णलाल श्रेष्ठलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेस जिल्ला सभापति रमेश महतलाई उम्मेदवार बनाएको छ ।

नुवाकोटको क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा ११ जनाले मनोनयन दर्ता गराएकामा नेकपा (एमाले)ले नारायणप्रसाद खतिवडालाई उठाएको छ भने सत्तारुढ गठबन्धनको तर्फबाट साझा उम्मेदवारको रुपमा नेपाली कांग्रेसले अजुर्ननरसिंह केसीलाई उठाएको छ ।

त्यस्तै प्रदेश- क मा एमालेबाट बागमती प्रदेश कमिटीका अध्यक्ष एवं सोही क्षेत्रका पूर्व सांसद केशवराज पाण्डे, कांग्रेसले गीता अमात्य, माओवादीले रामप्रसाद ढुंगाना र समाजवादीले राजेन्द्र प्रकाश लोहनीलाइ उम्मेदवारको रूपमा खडा गरेको छ ।त्यस्तै प्रदेश-खमा एमालेका विजयसिंह लोप्चन, कांग्रेसका बहादुरसिंह लामा र माओवादीकी राममाया बोगटी उम्मेदवार रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *