३३ करोड क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा: नुवाकोटका श्रेष्ठ पक्राउ

समाचार

नुवाकोट /
क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा पक्राउ परेका नुवाकोटका अमित श्रेष्ठको मोबाइल र ल्यापटपको फरेन्सिक जाँच रिपोर्ट आएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले काठमाडौं महानगरपालिका–३ पानीपोखरी बस्दै आएका ४१ वर्षीय श्रेष्ठलाई असार २९ मा पक्राउ गरेको थियो ।

डिजिटल फरेन्सिक ल्याबमा उनको ल्यापटप र मोबाइल परीक्षण गर्दा ३३ करोड ९ लाख २१ हजार रुपैयाँ बराबरको विदेशी मुद्रा कारोबार गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

सो रकम तथा कारोबार शंकास्पद देखिएकाले श्रेष्ठलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन–२०७३ को कसुरमा अनुसन्धान शुरु गरिएको परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए ।यसअघि प्रहरीले उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा हिरासतमा राखेको थियो ।

अष्ट्रेलियाको कमन वेल्थ बैंक, रोयल बैंक अफ क्यानडा र नेपालको नबिल बैंकमा उनले डलर कारोबार गरेको फरेन्सिक परीक्षणबाट देखिएको छ ।कारोबार भएका अधिकांश रकम अमेरिकी डलर भएको बताइएको छ। राष्ट्र बैंकको अनुमति बिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नपाउने कानुनी व्यवस्था छ ।

प्रहरीले उनलाई बैंक तथा वित्ति संस्था सम्बन्धी ऐन–२०७३ (१०३) को ‘ग’ र ‘घ’ सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान अघि बढाएको छ। सो ऐनको ‘ग’मा बैंकिङ्ग तथा वित्तीय कारोबार गर्ने इजाजतपत्रको शर्त सीमा विपरित हुने गरी बैंकिङ्ग तथा वित्तीय कारोबार गर्न नहुने र ‘घ’ मा  इजाजत बिना विदेशी विनिमयसम्बन्धी कारोबार गर्न नपाउने व्यवस्था छ ।

काठमाडौं महानगरपालिका–१४ कलंकीका साथै लाजिम्पाटमा उनको जग्गा र पानीपोखरीमा अपार्टमेन्ट छ । सो सम्पत्तिको बजार मूल्य ४ करोड भन्दा बढी हुने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *