नुवाकोट /
आफुलाई अलौकिक दावी गर्दै आएका पोखराका कवि देशभक्त सिंह कुँवर अहिले सामाजिक सञ्जालमा निकै आलोचित भएका छन् ।शनिबार भएको एउटा कार्यक्रममा उनलाई आयोजकले १२ वटा उपाधि दिएको फोटो र उपाधिको शीर्षक सार्वजनिक भएसँगै उनको आलोचना शुरु भएको हो ।
उनले शब्द सम्राट, वाङ्मय सम्राट, साहित्य सम्राट, सिर्जना सम्राट, रचना सम्राट, लेखक सम्राट, दिव्य गायक, बहुआयामिक व्यक्तित्व, सङ्गीत मणिरत्न, युग सञ्चारमणि, महासाहित्यकार र दुर्लभ महामानव ‘उपाधि’ प्राप्त गरेका हुन् । कुँवरले उपाधिसँगै प्रमाणपत्र, चिनो तथा नगद ६ लाख समेत प्राप्त गरेका छन् ।


उनलाई इन्याल्क नेपाल (अंग्रेजी प्रौढ साक्षरता अभियान), काठमाडौँ र पोखरा शाखा, उन्नतिशील वाङ्मय प्रतिष्ठान, बैदाम वाङ्मय प्रतिष्ठान, रूपाङ्कन साहित्य परिवार, श्रीवृद्धि साहित्य परिवार, श्री ऐतिहासिक कुँवर तथा राणा सांस्कृतिक समाज पोखरा, सनलाइट मिडिया ट्रेनिङ सेन्टर, कारवि फाइनान्सियल एजेन्सी काठमाडौँ, काविन ग्राफिक्स डिजाइनिङ एन्ड सोलुसन र माछापुच्छ्रे नृत्य प्रशिक्षण तथा साँस्कृतिक परिवार लगायतले सम्मान गरेका हुन् ।
यसरी सम्मानित भएपनि सामाजिक सञ्जालमा उनको निकै आलोचना भएको छ ।पोखरालाई नै आधार बनाएकी उपन्यासकार तथा कवि सरस्वती प्रतिक्षाले उनको उपाधि प्राप्तिलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘पोखरामा एक कार्यक्रमका माझ एक जना महानुभावलाई यी सबैखाले उपाधि दिइएछ । ब्यानरमै साहित्यिक राष्ट्रनायक रे अझै ।
उपाधिहरुकै हुर्मत काट्ने गरेर यसरी प्रायोजित रुपमा आफैलाई र अरुलाई सम्मान गरेर वाङ्मयको सम्मान हुन्छ कि अपमान ? साधना र सृजना कठिन बाटोको अर्को नाम हो। त्यसलाई यो हदको सस्तो मजाक बनाइनु हुँदैन कदाचित ।’
