नुवाकोट/
जिल्लाको विदुर –३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ ।७ वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीता श्रेष्ठलाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए ।
उनका अनुसार वडा नं -३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा रहेको खेतमा काम गर्न गएका थिए । खेतको काम सकेर घर फर्कनुअघि हातगोडा धुन लागेका युनिकलाई त्रिशूली नदीले बगाएपछि बचाउन नदी पसेको आमालाई समेत बगाएको स्थानीयवासीले प्रहरीलाई बताएका छन् ।


नदीमा पानीको बहाव ठूलो र पानीसमेत धमिलो भएकाले खोजतलासमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।
हराइरहेका उनीहरूको खोजतलासका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोटसहित मातहतका प्रहरी एकाइ, सशस्त्र प्रहरी बल १९ नं गुल्म नुवाकोट र जबरजङ्ग गण देवीघाटबाट खटिएका १०० भन्दा बढी सुरक्षाकर्मी एवं स्थानीयवासी खटिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।
