काठमाडौ /
मुस्ताङमा तारा एयरको ९ एन–‘एईटी’ ट्विनअटर विमान दुर्घटनामा परेर ज्यान गुमाएका १० जनाको शव काठमाडौं ल्याइँदैछ ।दुर्घटनास्थल थासाङ गाउँपालिका–२, सानोस्वाँरेबाट संकलन गरेर शव कोबाङ्गमा केन्द्रित गरिएको मुस्ताङका डिएसपी रामकुमार दानीले बताए ।
नेपाली सेनाको हेलिकप्टरमार्फत १० वटा शव काठमाडौं पठाउन लागिएको उनले बताए ।उनले भने, ‘पहिलो चरणमा १० वटा शव काठमाडौं पठाउँदै छौं ।’
आइतबार पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर मुस्ताङको थासाङ गाउँपालिका–२, सानोस्वाँरेस्थित मानापाथी हिमालको फेदीमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।विमानमा चालक दलका सदस्यसहित २२ जना सवार थिए ।
खराब मौसमका कारण नेपाली सेनाको एमआई–१७ हेलिकप्टर मुस्ताङको थासाङ गाउँपालिका–२, कोबाङ्गमा अवतरण गरिएको छ ।कोबाङ्गबाट दुर्घटनास्थलमा पुग्न करिब ३–४ घण्टा पैदल हिँड्नुपर्छ ।दुर्घटना स्थलमा खटिएका सुरक्षाकर्मीहरुका अनुसार २१ वटा शव भेटिएको छ ।अझै एकजनाको अवस्था अज्ञात रहेको दुर्घटना स्थलबाट एकजना सुरक्षा अधिकृतले बताए ।