चुनाव पछि आरोप लगाउन बहाना र मान्छे तयार गरेर राखेका हुन्छन् ठेक्केदारहरूले जित भयो भने उम्मेदवारको लोकप्रियतालाई सिगारेर उराल्छन् चाकरी स्वरूप। हार भएमा धाधलीबाट शुरुहुने बहाना अन्तरघातमा पुगेर चक्रपात जस्तै मडारिन्छ अनि वातावरणलाई धुलाम्य बनाउछ हावा प्रदुषित पार्दछ दृश्य उराठलाग्दो पारिदिन्छ अनि भातृत्वमा शब्दको कैँची चलाउछ केवल आफूले निलेको बदामको पाचन क्रिया सजिलो होस् भनेर।
संगठन स्थापनाको मुल लक्ष्य र वर्तमानको गन्तव्यलाइ नियाल्न नसक्ने आँखाहरू असफलताको बेलुन फुटाउन नरम निशाना खोजिरहेका हुन्छन् किनभने यस्ता व्यक्तिहरू तत्काल लाभ लिनको लागि कहिल्यै लालायित हुदैनन्। चक्लेट देखि कक्टेल सम्म लुड्याएर कुर्सी र मधुशालाको वरिपरि परिक्रमा गर्ने हनुमानका केही प्रतिशत गुण बोकेका स्वघोषित वफादारहरूको वफा सेकिने बार बि क्यु, उम्लिने रसेटो, चम्किने डिस्को, थर्किने पब र हुइकिने चारपाङ्रेको पछिल्लो सिट सधैं आरक्षण गरिएको हुन्छ। उनीहरुको मुख्य काम भनेको संगठनको हित भन्दा पनि नेताको लागि पेग बनाउने, सुकुटी तताउने, सुर्ती र गाजा माड्ने अनि कल्पनाको उग्रभट्टीमा ईष्र्याको घुएत्रो हानेर छानिएका पात्रको विरुद्ध आगो दन्काउनु नै प्रमुख कार्य हुन्छ।
बिशेष गरेर कम्युनिस्ट पार्टीको नेपाल संस्करणमा फरक विचारलाइ निमिट्यान्न पार्ने घातक प्रहार विभिन्न कालखण्डमा विभिन्न पात्रहरूद्वारा निरन्तर गर्दै आएका छन् , राजनीतिमा हुने अनेकौं तिकडम् मध्ये विपक्षी बोली निस्किने मुख र विरोधको कालो झण्डा समाउने हातलाइ प्यारालाइज गर्ने गरिएको उदाहरण नेपाली बामपंथी आन्दोलनको इतिहासमा सबैभन्दा लामो सुची बन्न सक्ने विषय भित्र पर्छ।
हुन त अन्धभक्त ढुंङेयुग देखि अहिलेको समाजसम्म आइपुग्दा स्वरूप फेरेर भएपनी लगातार यो संसारमा आफ्नो अस्तित्व लाई मजबुत बनाउन सफल भएका छन् किनभने उनिहरू आफ्नो रंग , चाल, आहारा , बोलचाली सबैकुरालाइ परिस्थिति अनुरुप परिवर्तन गर्न सिपालु हुन्छन् छेपारो जस्तै। छेपारे प्रवृतिमा दिउसोको पारिलो घाम मात्रै समय हो भन्ने भान हुन्छ जब रातिको चिसोले सताउछ अनि चन्द्रमालाइ गाली गरेर चित्त बुझाउने प्रवृतिमा विद्यावारिधी गरेका नवीन बामपंथीहरू अरुको अस्तित्व स्वीकार गर्न चाहदैनन् ।उनिहरू आडम्बरको चुलोमा दम्भको सुप बनाएर चाकरीको चम्चाले चुसिरहेका हुन्छन् । आखामा बाधिएको सिद्धान्तको पट्टीको भित्रपट्टीको पर्दामा निरन्तर चल्ने निलो सिनेमा जस्तै मादक चलचित्रले उनीहरुको मस्तिष्क बशिभुत भएको हुन्छ।
राजनैतिक दलको सदस्य भएर समाजसेवामा लागेका कार्यकर्ताको मुख्य चाहना सामुहिक नेतृत्वलाई सर्वोपरि मान्दै सर्वजहितायको निमित्त समान अवसर र समान सहभागिताको सुनिस्चितताको लागि निरन्तर प्रयत्नशील रहनु र नेतृत्वमा पुगेकाको विचारमा असहमत भएमा आवाज उठाउनु नै प्रगतिशील विचारधाराको आधारभूत तत्व हो भन्ने चेत भएका कार्यकर्ता जीवन् भर प्राप्ति को आशा नलिइकन निरन्तर लागेका हुन्छन् । सत्तामा पुगेर जब आफ्नो दल सामुहिक उत्थानको लक्ष्य अघोषित रूपमा त्यागेर निजि स्वार्थ पुर्तिमा लिप्त हुन्छ त्यो बेला समर्पित कार्यकर्ता बेचैन हुन्छ र अनेकौं माध्यम बाट असन्तुष्टि व्यक्त गर्छ।
एउटा वडा सदस्य देखि प्रधानमन्त्री सम्म तह र तप्का अनुसार आफ्ना आफन्त र नाताको त्यान्द्रोले भ्याए सम्म ज्यालादारी पिउन देखि निर्देशक र राजदुत सम्ममा आफ्नै केवल आफ्नै ल्याउन कन्दनी चुडालेर लागेका भेटिन्छन् , नेतृत्वमा रहदा असामाजिक लाग्ने खालको आचरण गर्ने नेतृत्व लाई खबरदारी गरेको आरोपमा अथवा सम्मानित ओहोदामा बसेको व्यक्ती खुल्ला आकाशले देख्ने गरेर रासलिला रचाएको देख्दा बिरोधको दुई शब्द लेखेकोमा दोष देखाउने पाखण्डी प्रवृति लाई अगालोमा हालेर हिड्नु सिद्धान्तनिष्ठ हो भने त्यो प्रगतिशिल होइन।
घात,प्रतिघात र अन्तरघातको अर्थ अनेक लगाउन सकिएला समय अनुसार र व्यक्तिको अनुकुलता हेरेर प्रयोगमा ल्याइने शब्दहरू मध्ये अन्तरघात शब्द विषेशत: निर्वाचनको मतपरिणाम पछि मत्ता हात्तीले मदिरा सेवन पश्चात् गर्ने ताण्डव नृत्य जस्तै ताण्डव गर्न थाल्छ, हुरी जस्तै हुन्हुनाउन थाल्छ,खहरे जस्तै गड्गडाउन थाल्छ तर यो शब्द उराल्ने दिमागहरूमा आवेगात्मा मनोवेग र निशुल्कमा निलेको अधकाच्चो सिकार पचाउने र आफ्नो कर्तुतमा पर्दा हाल्ने प्रयत्नको छट्पटाहट डाको छोडेर चिच्याइरहेको हुन्छ।
अन्तरघातको सिलान्यासको रुपमा कार्यकर्ताहरूको हातमा फूल गुच्छा थमाएर आफू जिवन्त पार्टीको शिखर पुरुष बन्ने राजसी चाहना दलिय व्यवस्थामा सबैभन्दा विषालु अन्तरघातको बीउ हो। यो पद्धति केन्द्रदेखी टोलसम्म सताब्दियौं पुरानो बरको जरा जस्तै मजबुत भएर धसिएको छ। संगठनमा गरिने भेदभाव र फरक मतलाइ दायित्वविहिन पारेर प्रेमिका देखि घरको भान्छे सम्मलाइ पदिय पगरी गुथाउन मरिहत्ते गर्ने नेतृत्वको कार्य अर्को अन्तरघात हो। निर्वाचनको समयमा अनेकौं प्रपञ्च रचेर सबैजसो उम्मेदवारबाट उम्मेदवारी बापत असुल गरिएको घुसले निम्त्याउने घातको लागि जिम्मेवार व्यक्ती मुख्य रुपमा अन्तरघाती हो। समग्र राजनैतिक जीवन् संगठनको निमित्त समाहित गरेको सदस्यहरूको चाहनामा डोजर चलाएर प्यारासुटबाट ल्याइने कुबेर पात्रको उपस्थिति भन्दापनी त्यो प्रवृतिको निरन्तरता अन्तरघात हो। केही आर्थिक उपार्जन गर्दै नेतृत्वमा बसेकाले आयात गर्ने एकराते उम्मेदवारहरूको निष्ठा प्रती विश्वस्त हुने आधार दिन नसक्नु र घर किनिदिएको वा गाडी किनिदिएको बदलामा दिइने आशीर्वाद अन्तरघात हो। अझ महत्वपूर्ण अन्तरघात भनेको एकपटक सत्तामा गएर एक कार्यकाल पूरा गरेको व्यक्तिले जिवित भएसम्म सो पदको निमित्त उम्मेदवारी प्राप्त गर्ने प्रक्रिया देखि निर्वाचनको क्रममा गर्ने असीमित खर्च मुख्य अन्तरघात हो। एउटा पालिका अध्यक्ष को लागि उम्मेदवारी प्राप्त गर्न पहुच भएका नेतालाइ गाडी किनिदिनेदेखी चुनावसम्म गर्ने करोडौं रकम को सावाँ व्याज र नाफा कमाउने लक्ष्य हो अन्तरघात।
शब्दको प्रयोग गरेर केही समय आनन्द लिन त सकिन्छ तर वास्तविकता को बलेसीमा बसेर तप्केनी मा रुझेर हेरेपछीमात्रै छानाको गन्ध अनुभव गर्न सकिन्छ। वास्तवमा यो अन्तरघात शब्द फटाहाले आफ्नो कमजोरी लुकाउन अत्यधिक प्रयोग गरिने निर्वाचन पस्चातको छाता मात्र हो।
शम्भु गजुरेल ‘अज्ञानी’
नुवाकोट