नुवाकोट /
बेलकोटगढी नगरपालिकाको मेयरमा साहित्यकार समेत रहेका शम्भु गजुरेलले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।उनले एक घोषणापत्र जारी गर्दै उम्मेदवारी दिने जनाएका हुन।

स्वच्छ छवि र ईमानदार हैसियत बनाएका गजुरेल नुवाकोटमा चिरपरिचित नाम मध्य एक हो। सामाजिक संजाल मार्फत र आफ्ना रचनाहरु मार्फत वर्तमान राजनीतिको वेथिती विरुद्ध निरन्तर आवाज उठाएका उनले उम्मेदवारीको निर्णय गरेका हुन

उहाँद्वारा जारी घोषणापत्र जस्ताको त्यस्तै:

“हाम्रो राजस्वको प्रयोग हाम्रो लागि हामिद्वारा”

गाँस, वास, कपास, शिक्षा स्वास्थ्य अभिव्यक्ति स्वतन्त्रता को निमित्त प्रजातान्त्रिक शासन प्रणाली अवलम्बन गरिएको हो , प्रजातन्त्रमा आवधिक निर्वाचन एउटा मुलभुत प्रक्रिया हो।निर्वाचनबाट चुनिएका प्रतिनिधिले जे प्रयोग गरेर निर्वाचित भएका हुन्छन् त्यही प्राप्त गर्नु नै उसको मुख्य लक्ष्य हुन्छ, करोडौं खर्च गरेर निर्वाचनमा जाने उम्मेदवारलाई त्यो खर्च गर्ने रकम कताबाट आउँछ हामिले सोचेका छौँ ?

मासु, रक्सी, चुरोट र आश्वासनको भुलभुलैयामा फसेर हाम्रो अमूल्य मत दिदै आएका हामी जनता वास्तविक मतदाता बन्नु जरुरी छ। विगतलाइ समिक्षा गरेर हेर्ने हो भने हामी छर्लङ्ग हुन सक्छौ कि हाम्रो मत लिएर गएका जनप्रतिनिधिले साढे ४ बर्ष सम्म नश्लिय टिप्पणी गरेर मतदातालाइ जात र भेगमा विभाजन गर्दै एउटा सिमित भजन मण्डलीको भक्तिगानमा झुम्दै बस्यो ,केही चेलाहरूका नवीनतम पट्टाहरूमा कल्भर्टहरू हालिदियो र सवाकरोड पास अनि सवा मात्र लगानी जस्तो उच्चस्तरीय निर्माण कार्य गर्‍यो, कार्यकालको अधिकतम समयमा अधिनायकवादी चरित्र देखाएको स्थानीय सरकारको मुखियाको कार्यको स्वरूप जनसेवा परिलक्षित कुनै दृष्टिकोणबाट पाउन सकिन्न।

राजनीतिको नाममा व्यापार गरेर मुनाफा कमाउन आएका चरित्रहरूलाइ किन र के का लागि मतदान गर्ने भनेर बिचार गर्नुपर्ने बेला भएन र ?

निर्वाचनको नजिकै आएपछी आलोचकहरूका तर्फबाट आएका जायज र कानुनी प्रक्रिया अनुरूपका कामका फाइल लाई रोकेर राख्दै राजस्वको रकमलाइ पैत्रिक सम्पत्ति झैँ अनुभुत गरेर विभिन्न बहानामा वितरण गर्ने नग्न दृश्यलाई एक आँखा चिम्लेर हेर्नू के उचित हो र ?

भक्तिको चोंगा फुकालेर निर्वस्त्र शरीर भएको मान्छे बनेर सोचौं त के तपाइँको निर्णय उचित हुँदै छ त ?

अब पनि आवाज उठाउदा मेरो भाग फुस्किन्छ भनेर एक चौटाको पर्खाइमा बलेसी कुरेर उभिने बानी त्यागेनौं भने हाम्रो मानवीय चेतनामा प्रश्न उठ्न जान्छ।

सोचौं कुकृत्यको भण्डाफोर गर्दै यो निर्वाचनमा वास्तविक जनप्रतिनिधि चुन्ने प्रयत्न गरौँ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x