नुवाकोट /
नेपाल सरकारले नुवाकोट र रसुवाका कारागारमा बन्दी रहेकाहरुलाई रिहा गरेको छ। सरकारले प्रजातन्त्र दिवसका अवसरमा बाँकी कैद मिनाहा गर्दै नुवाकोटका चार र रसुवाका दुई जना कैदीवन्दी रिहा गरेको हो।

सरकारले ५० प्रतिशत कैद भुक्तान गरिसकेका विभिन्न प्रकृतिका कैदी बन्दीको सजाय मिनाहा गर्ने निर्णय गरेसँगै नुवाकोट र छिमेकी रसुवाका बन्दीहरु रिहा भएका हुन्। जिल्ला कारागार र जिल्ला प्रशासन कार्यालयले गरेको सिफारिसलाई छानविन गरेर सरकारले ५० प्रतिशत कैद भुक्तान गरिसकेका विभिन्न कैदीवन्दी रिहा गरेको हो।

रिहाई हुनेमा नुवाकोट कारागारबाट बहुविवाह मुद्धाका विदुर नगरपालिका –३ का ३५ वर्षीय मानबहादुर राई, ठगि मुद्दाका  लिखु गाउँपालिका- १ का २५ वर्षीय रोमन विक, सवारीज्यान मुद्दाका गल्छी–७ धादिङका २० वर्षीय सुमन परियार र ज्यान मार्ने मुद्दाका विदुर नपा–७ का ५६ वर्षीय शम्भु वोगटीलाई सरकारले बाँकी कैद मिनाहा गरेपछि उनीहरु कारागारवाट सरकारको निर्णयअनुसार रिहा भएको नुवाकोट जिल्ला कारागारले जनाएको छ। कारागारका प्रमुख तथा जेलर गंगालाल योगीका अनुसार सुधारिएको चालचलनका आधारमा कारागार तथा प्रशासनको सिफारिसमा सरकारले उनीहरुलाई थप कैद मिनाहा गरि हिरासतमुक्त गरेको हो।

उनका अनुसार नुवाकोट जिल्ला कागारमा शनिबारसम्म १३ महिलासहित एकसय ६६ जनाले कैद जीवन बिताइहेका छन्। कारागारमा क्षमताभन्दा बढी कैदी रहेका छन्।

उता, नुवाकोटको छिमेकी रसुवा कारागारबाट रिहा हुनेहरुमा एक जना हातहतियार खरखजाना मुद्धा र अर्का एक जना ज्यान मार्ने उद्योग अन्तर्गत सजाय भोगिरहेका युवाहरु रहेको रसुवा कारागारले जानकारी दिएको छ। रसुवा कारागारका अनुसार रिहा हुनेमा हातहतियार खरखजाना मुद्धाका ललितपुर घर भएका ३१ वर्षीय सुलभ भुलन र ज्यान मार्ने उद्योगमा रसुवाकै भोर्लेका २३ वर्षीय सन्तोष गलान तामाङ रहेका छन्।

बलात्कार, भ्रष्टाचार, राज्यविरुद्धको अपराध लगायत विभिन्न आधा दर्जन कसुरमा दोषी ठहरिएका बन्दीलाई भने कैद मिनाहा गर्न नपाइने व्यवस्था कारागार व्यवस्था ऐन २०२०मा उल्लेख गरिएको छ। तिबाहेकका मुद्दामा दोषी ठहर गरी ५० प्रतिशतभन्दा बढी कैद भुक्तान गरिसकेकालाई बाँकी कैद मिनाहा गरेर माफी दिइएको हो।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x