काठमाडौ /
बागमती प्रदेश सरकारले तीनवटा मल कारखाना खोल्ने प्रक्रिया अघि बढाएको छ। बर्सेनि किसानले भोग्दै आएको मल समस्यालाई सहज बनाउन बागमती सरकारले मध्यमवर्गका तीनवटा मल कारखाना खोल्ने तयारी गरेको हो ।

बागमती सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा मध्यमवर्गका तीनवटा मल उत्पादन कारखाना खोल्ने तयारी अन्तर्गत विदेशी कम्पनीसँग छलफल अघि बढाउने निर्णय गरेको हो ।

हेटौँडा, चितवन र सिन्धुली क्षेत्रमा कारखाना स्थापनाका लागि थाइल्यान्डको निजी कम्पनीसँग प्रक्रिया अघि बढाउने भन्दै सरकारले यसअघि पनि निर्णय गरेको थियो ।तर, त्यो निर्णय हालसम्म कार्यान्वयनका रूपमा अघि बढ्न सकेको छैन ।

प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण खनालले कारखाना स्थापनालाई तीव्रता दिँदै योजना अघि सारेको बताए ।उनले भने, ‘मलकै कारण सरकारमाथि सधैँ किसान रुष्ट हुने गरेका छन्, त्यसैले प्रदेशमा सरकारले मल कारखाना स्थापना गर्न आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।’मल कारखानाका लागि चासो राखेको थाई कम्पनीले प्रदेश सरकारसँग नियमित रूपमा दुई सय मेगावाट बिजुली उपलब्ध गराउनुपर्ने सर्त राखेको थियो । ‘उनीहरूको एउटा मात्रै माग बिजुलीको छ,’ उनले भने, ‘नेपालमा उत्पादन भएको विद्युत् खपत नभइरहेको अवस्थामा हामीले विद्युत् प्राधिकरणसँग सल्लाह गरेर कारखाना स्थापनाको पहल गर्ने निर्णय गरेका छौँ ।’यो खबर आजको नयाँ पत्रीकामा छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x
x