काठमाडौँ / 
सत्ता गठबन्धन दलहरुले स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्ने सहमति गरेको छ ।निर्धारित समयमै चुनाव गर्न दलहरु सहमत भएको हो ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमै चुनाव गराउने सहमति गरेको हो ।

बैठकले संविधानको व्यवस्था अनुसार नै वैशाखमै चुनाव गर्नेमा सहमति जुटाएको हो ।आउँदो बिहीबार बस्ने सत्ता गठबन्धनका मुख्य नेताहरुको अर्को बैठकले चुनावको मिति समेत तय गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी थिए ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हुँदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ ।सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय