
काठमाडौं/
नागार्जुनस्थित एक धामीको आश्रममा १४ वर्षीया किशोरीको हत्या भएको छ।टाउको दुखेको फुक्न नागार्जुन १ पानी ट्यांकीस्थित धामीको आश्रममा गएकी सिन्धुपाल्चोककी १४ वर्षीया किशोरी रोशनी श्रेष्ठको हत्या भएको हो।
हत्या आरोपी धामी उमा ठकुरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दीनेशराज मैनालीले जानकारी दिए।
मृतकका किशोरीका आफन्तका अनुसार किशोरीलाई उनकी आमाले गत पुस ३ गते धामी ठकुरीकहाँ छाडेर घर फर्किएकी थिइन्। उनलाई टाउनको दुखिरहने समस्या थियो। छोरीको समस्या सुनिसकेपछि ठकुरीले आफूले सबै ठिक पार्ने भन्दै छोरीलाई छाडेर जान आग्रह गरेकी थिइन्।
किशोरीको हत्या भएको अवस्थामा शनिबार आश्रममै शव फेला परेको आफन्तले बताएका छन्। हाल किशोरीको शव पोष्टमार्टमका लागि टिचिङ अस्पतालमा राखिएको छ।
किशोरीका आफन्तले धामीले कुटपिट गरेर रोशनीको हत्या गरेको दावी गर्दै प्रहरीमा उजुरी गरेका छन्। मृतक किशोरीको शरीरका विभिन्न भागमा निलडाम देखिएको छ भने नाकबाट रगत बगेको प्रहरीले जनाएको छ। धामीले त्रिशूलले घोच्दा किशोरीको मृत्यु भएको आफन्तले दाबी गरेका छन्।
यातनाले रोशनी बेहोस भएपछि धामी ठकुरीले उनकी आमालाई शुक्रबार राति खबर गरेकी थिइन्। आफन्त आश्रममा पुग्दा उनको मृत्यु भइसकेको थियो।
आफन्तले किशोरीलाई स्वयम्भुस्थित मनमोहन अस्पताल पुर्याउँदा चिकित्सकले पहिल्यै उनको मृत्यु भएको जानकारी गराएका थिए।