एक युग पछि फर्किएकी छु आफ्नै जगमा
र गर्दैछु उत्खनन आफ्नै अस्तित्वको
आऊ न ,
बिन्ती सघाउ न !
बिछोडको बेला तिम्रो आँसुले भिजेको
मेरो काँध उस्तै छुर्लुप्प छ
आउ ! नपत्याए छाम !
खोइ , खोइ मेरो आँसु ?
हाए राम !!
आँसुको टाटो सम्म छैन तिम्रो काँधमा ।
आँगनको डिल जुन साहुको जमिन हुने गर्थ्यो
तिम्रो बनाएर आएँ प्रिय !
खोई मुस्कुराएको तिमी ?
के हुँदैछ !
हँ , के हुँदैछ यहाँ ?
देखिन्न त मेरा पाइतालाका डोबहरु
जहाँ म होसमा , बेहोसीमा
दिवा अनि रात्रीमा अबिराम ओहोरदोहोर गरिरहन्थेँ
थुक्क ! थुक्क !
म आफैंले पठाएको वैभवले पुरेको हो मेरो पाइलाको छाप ?
म मै हुँ ?
तिमी ! तिमी नै हौ ?
यो हाम्रै सन्सार हो ?
आऊ ! कुदेर आऊ
हेरेर तिम्रो मुटुको ऐनामा
मलाई मेरो हुलिया निर्क्योल गर्न देऊ!
हे भगवान को हो त्यो ?
उफ् !
मुर्छा परेर हाँसिरहेको
त्यो तिम्रो मुटुको भित्तामा ??
अनि म ?
म खोई ?
नमिता दवाडी
गोरखा नेपाल
हाल: न्युजिल्यान्ड