विश्वराज घरमा थियो ।बा ,आमा माडी खेतमा जानुभएको थियो ।माडीको फाँटले मन्थली बजारको झिलिमिली आँखा नझिम्क्याइ एकोहोरो हेरिरहने प्राकृतिक हिसाबले स्वर्ग जस्तै छ माडी त्यहीँ बा र आमाको दिनको प्रहर बित्छ। विश्वराजले सोच्छ यो सान्नेको पाखोबाट बा आमालाई अब मैले तल झार्नुपर्छ , बा आमाले जिन्दगीमा धेरै दुख गर्नुभयो ।उकालो ओरालो गर्दा दमको रोगी आमालाई झन् गार्‍हो हुँदै गएको छ ।अबत म हुर्केको छु केही गरेर बा आमालाई मधेसतिर लैजान सकेँ भनें म जन्मेको अर्थ हुन्छ ।साँझ पर्‍यो बा आमा घरमा आउनु भयो । विश्वराजले सबै घरधन्दा सकेकोले खाना च्यापेर आँटीमा उक्ले सबैजना ।

बिहान डोकोमा गाग्री राखेर स्वाँ स्वाँ गर्दै आमा मास्तिर उक्लेपछि विश्वराजले बासँग भन्यो ।बा ! म घरमा बसेर हल्लिएर हुँदैन म विदेश जान्छु काठमाडौं जाँदा ठुलाकान्छा दाइलाई पासपोर्ट बुझाएर आएकोछु राम्रो अवसर आउँदा फोन गर्नु दाइ भनेर । बहिनीहरूले पनि पढ्नै छ। यो डाँडोबाट तल झार्न सकँला नसकुँला छोरो भएर जन्मेको छु कोसिस त गर्छु । तिनटी छोरीहरू जन्मेपछि जन्मेको छोरो धनराजलाई परदेश पठाउन पटक्कै मन छैन ऊ जन्मेपछि अपुत्रो भन्नेको मुखमा बुजो खाँदिएको थियो । विश्वराज जन्मेपछि जन्मेका दुइटी छोरीहरूको पालामा धनराजलाई जे जन्मेपनि प्रवाह थिएन ।

हजुरहरू चिन्ता नगर्नु आमा! सारा दुनियाँ परदेश गएकै छन् आ- आफ्नो भाग्यमा जे छ त्यो सबैले भोग्नैपर्छ । ठाउँ राम्रै छ दुबई पुलिसमा कमाइ पनि राम्रो हुन्छ यो हैरानबाट हजुरहरूलाई बाहिर निकाल्न सकेँ भने र गीता ,संगीतालाई राम्रोसँग पढाउन पाए उनीहरूको पनि भविष्य बन्छ ।

शनिबारको दिन थियो। आज दिउँसो खेतमा जानुपर्ने थिएन र बा ,आमा, संगीता , गीता घरमै थिए विश्वराजको मोबाइलमा रिङ टोन बजिरहेको थियो ।यो दसैंमा म घर आइन सम्झनालाई पठाउन केही पाइन …… गीताले मोबाइल हातमा लिएर चिच्याइ ” दाइ! कता हुनुहुन्छ फोन आछ ।” विश्वराज बोल्यो यता ले सानी म खोरतिर छु । विश्वराज बाख्राले दाम्लो बेरेकोले फुकाइदिंदै थियो । उसले फोन उठायो । ठुलाकान्छाले फोन गरेका रहेछन् ।उताबाट बोले विश्व तँ दुबई जाने तयारी गरेस् तेरो भिसा लाग्यो नक्कली डकुमेन्ट बनाएर दुबई पुलिसका लागि डकुमेन्ट पठाइदिएको थिएँ भिसा लाग्यो । फोन राखेपछि विश्वराजले खुशी हुँदै घरमा सबैलाई त्यो खबर सुनायो । बहिनीहरू पनि दाइसँगै खुशी हुँदै उफ्रे तर बा आमाको मुहारमा खुशीको चमक थिएन । बा आमालाई मलिन देखेपछि विश्वले भन्यो ” हजुरहरू चिन्ता नगर्नु आमा! सारा दुनियाँ परदेश गएकै छन् आ- आफ्नो भाग्यमा जे छ त्यो सबैले भोग्नैपर्छ । ठाउँ राम्रै छ दुबई पुलिसमा कमाइ पनि राम्रो हुन्छ यो हैरानबाट हजुरहरूलाई बाहिर निकाल्न सकेँ भने र गीता ,संगीतालाई राम्रोसँग पढाउन पाए उनीहरूको पनि भविष्य बन्छ । तिनटी दिदीहरूले पढ्न पाएनन् गाउँमा दिइयो उनीहरूको जस्तो दुख यी दुइटीले नपाउन् भनेर पो म जान लागेको । सबै शान्त थिए धनराजले सोचे छोरो अब हुर्केछ । अनि बोले हुन्दे सीताकी आमा ! चिन्ता नलिइ अब हाम्रो छोरो ठूलो भयो उसले केही गर्छु भनेर हिम्मत गरेको छ हामीले रोक्न हुन्न ।

भिसा आएको दस दिन पछि घरबाट बिदावारी भएर विश्वराज काठमाडौं गयो र त्यहाँ पुगेर मेडिकल गर्‍यो ,श्रम गर्‍यो । सबै काम कुरा सकेर ऊ दुबई गयो । उसलाई एजेन्टले भनेको र एग्रीमेन्ट अनुसारको काम थियो । विश्वराज आफ्नो काममा खुशी थियो । ऊ पुगेर पनि म पुगेँ भनेर घरमा फोन गरेको थियो ।काममा लागेपछि पनि घरमा फोन गर्‍यो ।संगीताको माग थियो दाइ ! पहिलो महिनाको तलबले मलाई मोबाइल किनिदिनु । गीताले पनि त्यही भन्थी । दाइ! मेरो मोबाइल ह्याङ हुन्छ हजुरलाई थाहै छ । बा आमाले कहिल्यै पनि यो र त्यो चाहियो भन्नु भएन ।

समय बित्दै गयो उसले बेलाबेला घरमा फोन  गर्थ्यो ,घरको दुख सुख बारे जानेकै थियो । यसरी ऊ गएको पनि निकै समय भइसकेको थियो । बहिनीहरूले उच्च शिक्षा पढ्न अब शहर पस्नुपर्ने वाध्यता थियो । विश्वराजले घर बिदा लिएर घर आयो । बा आमाले र आफन्तले बिवाहा गर्न कर गर्नु भएको थियो तर ऊ मानेन । उसको सोचाइ अर्कै थियो । उसले अब गाउँ छाडेर शहर पस्ने निर्णय लिएको थियो जहाँ बहिनीहरूले पनि पढ्न सहज होस् ,बा आमालाई पनि उकालो ,ओरालो गर्नुपर्ने कष्टकर दैनिकीबाट  सहज होस् । उसले बालाई भन्यो बा! एकपटक चितवन घुम्न जाउँ त्यता चित्तबुझ्दो भए घर पनि लिउँला नत्र देवघाट घुमेर फर्किउँला । देवघाट भनेपछि धनराजले स्वीकृती जनाए ।

भोलिपल्ट बाउ छोरा चितवन तिर लागे । आएर बसपार्कको होटलमा एउटा रुम लिएर बसे । मिर्मिरेमा दुबैका आँखा खुल्यो र गन्थन गर्न लागे । पहिला यस्सो घुमफिर गरौं कता मन अडिन्छ त्यतै किनबेचका घरहरू बुझौंला चित्त नबुझे तिर्थ धामहरू घुमेर फर्किउँला ।
उज्यालो भयो चियाको घुट्को पिएर बाउ छोरा ट्याक्सी रिजर्भ लिएर नगर घुम्न निस्के । उनीहरूको मन सुन्दरपुरमा पुगेर रोकियो । अग्लो अग्लो फाँट , चोकमा मन्दिर , स्कुल ,कलेज ,खानेपानीको सुबिधा ,ढल व्यवस्थित ,फराकिलो बाटो , न भिडभाड नै छ ज्यादा । विश्वराजले बालाई सोध्यो बा! यहाँनेर कस्तो लाग्यो हजुरलाई ? बाले भन्नुभयो । बाबू ! तेरी आमा र म बुढो पनि भइयो । अब साँझ बिहान ईश्वरको आराधना मै मन खुशी हुन्छ यही मन्दिरको वरिपरि यतैकतै लिन पाए गजब हुन्थ्यो यो ठाउँ मलाई मनपर्‍यो तर चिने जानेको कोही छैन कसरी सम्भव होला र खै? ट्याक्सी ड्राइभर बोले । तपाईंहरू कहाँ देखि आउनु भएको ? यस्सो कुरा बुझ्दा घर जग्गाको लागि आउनु भएको जस्तो लाग्यो तपाईंहरूलाई समस्या हुन्न भने म यही गाउँको हुँ म सहयोग गर्छु तपाईहरूलाई । धनराजलाई शहरिया मान्छेको भर लाग्ने थिएन त्यसैले चुपचाप बसे । विश्वराजले बोले हामी रामेछाप देखि आएको हो दाइ ! हो हामीहरू घर लिने विचारले आएका हौं । यति बोली सक्दानसक्दा ट्याक्सी ड्राइभरले ट्याक्सी चिया घर अगाडि  साइड लगाएर रोके । सबैजना तल झरेर चिया अर्डर गरेर कुरा गर्न थाले । ट्याक्सी ड्राइभरले भने भाइ! यहाँ एउटा घर छ त्यो दाइहरू तनहुँबाट आएर घर बनाउनु भएको थियो । घर लोनमा बनेको रहेछ कोरोनाको लकडाउन पछि बिजनेस ठप्प भएर ऋणले आत्तिएर बेच्न खोज्नु भएको छ । आफै बस्न बनाएको घर बलियो छ तर के गर्नु सबैको आ – आफ्नो व्यवहार हुन्छ । खै कुन घर ? विश्वराज बोले । चिया टेबुलमा राखिदिदैं साहुनीले भनिन् श्याम दाइको घर हेर्न आउनु भएको हो ? ट्याक्सी ड्राइभरले टाउको हल्लाएर हो भन्ने संकेत गरे । चिया पिएर तिनजना श्यामको घर हेर्न गए ।

धनराजले सोधे यो बस्तीमा कुन जातीको बाहुल्यता छ बाबू  ? ट्याक्सी ड्राइभरले भने यहाँ सबै मिक्स छ बाजे गुरुङ ,मगर,नेवार ,थारू ,क्षेत्री ,बाहुन ,दमाई ,कामी ,सार्की । अधिकांश मानिसहरू अब ठाउँ हेर्छन् बाजे !जातजाति त के हो र मानिसले बनाएको त हो । धनराजले भने त्यो त हो । श्यामको घर आयो ।सोर्‍ह धुरमा बनेको घर । बाटो तिर पनि जग्गा छोडेको ,पछाडि यस्सो साग खान पुग्ने जमिन पनि छ , वरिपरि पर्खाल अनि चुटुक्कको गेट ।साढे दुई तलाको जापानीज मोडलको घर सार्‍है राम्रो माने बाउ छोराले । घर बाहिर मान्छेहरू देखेर श्याम बाहिर निस्केर सोधे कसलाई खोजेको होर नारन ! ( नारन ट्याक्सी ड्राइभरको नाम हो ) ए दाइ! उहाँहरू चितवनमा घर किन्ने सुरले आउनु भएको रहेछ संयोगबस मेरै ट्याक्सीमा पर्नु भयो उहाँहरू र मैले तपाईंको घर देखाउन ल्याइदिएको छु  उहाँहरूले घर मन पराए जस्तो लागेको छ तपाईंहरू कुरा गर्नुस् कुरा मिल्यो भने मैले पाउने प्रसेन्ट मलाई दिनु पुगि गो नि मलाई । नारन हाँस्यो । नारन सँगै सबैजना हाँस्दै घर भित्र गए । भित्र पनि घर हेरे । मन पराए । अब घरको रेट बुझ्न आतुर थियो विश्वराज । मनले नमानेर सोध्यो अनि दाइ घरको मूल्य कति भन्नू भाछ ? श्यामले घरको मूल्य भनेपछि मूल्य पनि चित्त बुझ्यो विश्वलाई । घर भोलि नै पास गर्ने कुरा भयो ।

सबैजना भोलिपल्ट मालपोत पुगे । गएर घर जग्गा नामसारी गरे । नामसारीमा फेरि धनराजले मानेनन् आफ्नो नाममा जग्गा लिन र विश्वकै नाममा पास गराए । श्यामले पनि छिटै घर खाली गरिदिन्छु भनेका थिए र सजिलो भयो उनीहरूलाई । तुरुन्त रामेछाप गएर त्यहाँ बन्दोबस्त मिलाएर स- परिवार चितवन आए । पहाडमा जस्तो पातलो बस्ती थिएन सुन्दरपुरमा ।सामाजिक काममा धेरै मानिसहरू भेला हुन्थे । सबै जाती , सबै धर्मका मानिसहरू आ – आफ्नो संस्कार र संस्कृती अनुसार चाडपर्व मनाउँथे । भैपरि आउने समस्यामा टोलका मान्छेहरू मिलेर समस्या सुल्झाउँथे ।त्यही गाउँमा एकदुइ जना अल्लि समाजमा अमिल्दो खालका मानिस पनि थिए । उनीहरू अघिपछि त पिउँने मान्छे झन् चाडपर्वका नाममा ज्यादै पिउँथे अनि गाउँमा होहल्ला गर्थे । अल्लि चित्त नबुझेका कुरा छाडा शब्द प्रयोग गरेर पिएको बेला ठूलो स्वरमा कराउँथे । जुन शब्दहरू सभ्य परिवारका स -परिवार  सँगै हुँदा सुन्न पनि लाज हुन्थ्यो ।

मिलिजुली बसेको समुदायका बिचमा यसरी टोल ,गाउँ जिल्ला मुछेर नाराहरू कहिलेसम्म घन्किन्छ ? कहिलेसम्म उचाल्ने र पछार्ने भइरहन्छ ?  हामीलाई हाम्रो सुन्दरपुर सुन्दर चाहिएको छ बस् यी टोलबासीहरू यो लफडामा नपरे हुन्थ्यो ।

त्यो दिन अघिपछि ठिकै मानिने एउटा अंकलले मज्जाले पिएर छाडा शब्द प्रयोग गरी बाटोमा निस्केर हल्लिदै चिच्याइरहेका थिए । ए फलाना ! तँ फलानो थोकलाई पख् ! तँ खुब नेता भाछस् । तँ .. लाई ठिक पार्छौं अब हामीले । हामीलाई तँ दलित भनेर हेप्ने ? यो मन्दिर हामीले बनाएको हो , हाम्रो हो । उनी बकबकाइ रहेका थिए । आफ्ना वरिपरि जो देखा पर्थे छाडा शब्द प्रयोग गरि हाल्थे । टोलका छोरी बुहारीलाई त बाहिर निस्किसक्नु थिएन यतिकैमा बाटोमा नेवार काँइल्दाइको छोरो बाहिर निस्कियो र” ए राम अंकल! तपाईं चुप लागेर घर जानू  त ,तपाईँ ज्यादै बोल्नु भयो । सुन्नेलाई समेत लाज भइसक्यो भन्यो ” राम दाइ के चुप लाग्नु झन्झन् जंगिए ।फुर्केर भने झैँ  झन्झन् छाडा शब्द प्रयोग गरेर त्यही नेवार केटो माथि खनिए । पिएर झल्लु भएकालाई त्यो नेवार भाइले नि केही नभनेको भए राम एकछिन कराउँथे थाकेपछि चुप लाग्थे सक्किजान्थ्यो । गएर बोली त गयो केटोले । बोलेपछि मामला झन् बिगि्रयो । तँ तँ म म भयो । राम अंकलले पिएर थपक्क सुतेको भए जित्थे बाहिर निस्केर रामायण पढ्न लागे । त्यसपछि केटो तात्तियो त्यसरी केटोले बाबू समानका मान्छेलाई हात हाल्नु हुने थिएन । रक्सिले चुसेको ज्यान बलवान् केटोले हात हालेपछि भुइँमा लड्यो । सबै मिलेर अस्पताल पुर्‍याए तर जति कोशिस गरेपछि राम अंकल बाँचेनन् उनी गए । समाज हो समाजले पनि त हिंसा त हेर्दैन आखिर नेवार काँइल्दाइको छोरोलाई कानुन बमोजिमको सजायको माग गरेर प्रहरीलाई बुझायो । राम अंकलले पिएको बहानामा छाडा बोल्नु गलत थियो केटोले हात हाल्नु गलत थियो । आखिरिमा दुबैजनाको जिन्दगी सकियो ।

यही सुन्दरपुर हो हिजोआज सुन्दर छ जस्तो लाग्दैन ।सबै जातजाति मिलेर बसेको समाजमा अहिले जातिय विभेदको नारा लगाएर अरू ठाउँका मानिसले समेत यसलाई राष्ट्रिय मुद्दा बनाएका छन् भन्ने सुन्छु ।मिलिजुली बसेको समुदायका बिचमा यसरी टोल ,गाउँ जिल्ला मुछेर नाराहरू कहिलेसम्म घन्किन्छ ? कहिलेसम्म उचाल्ने र पछार्ने भइरहन्छ ?  हामीलाई हाम्रो सुन्दरपुर सुन्दर चाहिएको छ बस् यी टोलबासीहरू यो लफडामा नपरे हुन्थ्यो ।

अम्बिका कार्की
चितवन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय