गुन्जिएका छन् जयजयकारका ध्वनिहरु
राम नाम जपिरहेका छन् दुश्मनहरु
परम शत्रु उभिएको छ माला लिएर
किनकि उ मरिसकेको छ।
पाक्ने छैन अब विरुद्धका खिचडीहरु
रचिने छैन भस्म पार्ने षड्यन्त्रहरु
खेलिने छैन खुट्टा तान्ने खेलहरु
बुनिने छैन् फसाउने माकुरी जालहरु
किनकि उ मरिसकेको छ।


अब त उ भगवान बनेको छ
लात हान्नेले खुट्टा ढोग्दैछन
खुशी खोस्नेले आँसु खसाउँदैछन
किनकि उ मरिसकेको छ।
मरुभूमिमा सेकिएर आएको उ
घामसंग डर थिएन
आफन्त बाटै जलेको उ
आगोसंग डर थिएन ।
उ मर्यो र त महान बनायो
यसै त यो समाजले
सजिलोसँग बाँच्न कहाँ दिएको थियो र ?
भोकै बस्दा सोधेनन होला कसैले
नांगै हिड्दा देखेनन होला कसैले
हेर्नुस त
पिताम्बरको पहिरन र खादाको वर्षात
धुपदिपको सुगन्ध र मिस्ठान्नको ओइरो
मागिएको छ स्वर्ग जाने दुआहरु
लगाइएको छ अमर रहुनका पुकारहरु
किनकि उ मरिसकेको छ।
किनकी उ मरिसकेको छ।
रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ ५ सामरी,नुवाकोट
