साँझपख चराहरुको प्रेमिल चिरबिर भित्र रम्दै
डुब्दै गरेको घामलाई अंगाल्दै
खाएर एक फ्वाँक प्रकृतिको हावा
सुस्केरा हाल्दै बिस्तरामा
मदमस्त निदाउन
किन नसकेको होला है म ?

किन होला है
म अरु भन्दा बेग्लै भाको ?
ठुला-ठुला घर बनाउने
तारे होटलमा रमाउने
नोकर चाकर कजाउने
साँझ सुरा र सुन्दरिको हात समाउने
किन होला है
मेरो त्यस्तो सोच नआको ?

खुल्ला गगनमा निस्फिक्री उडेका चराका हुलहरु हेर्छु
खुल्ला सिमानमा वारपार गरेका हात्ती र गैंडाका बथानहरु हेर्छु
हिमालको सिरेटो देखि समुन्द्रको लहर सम्म
लमतन्न बगेको नदिमा कुदेका माछाहरु हेर्छु
एउटै खर्कमा मिलिजुली चरेका गाईभैंसिहरु हेर्छु।
न घमण्ड न ईष्र्या न अहंकार
न लोभ न मोह न तिरस्कार
आहा मान्छेहरुमा पनि यस्तै भैदिए।
किन होला है
अरु भन्दा बेग्लै सोचेको मैले ?

राजनीतिको खराब रंगले पोतेर धर्ती
शक्तिशाली बन्ने होडले झोसेर वायुमण्डलमा धुवाँ
खोतलेर खनिज
खोस्रेर पाखो
कुरुप बन्दैछ प्रकृति
जल हावा र माटो दुषित बन्दैछ आज
किन होला है
अरु जस्तै कानमा तेल हालेर
मदमस्त
बंगुर सुताई सुत्न नसकेको म ?

देख्छु मान्छे मान्छेमा भेदभाव
भेट्छु पाईलापाइलामा वर्गीय असमानताका खाडलहरु।
अनि सोच्छु
कस्तो बिडम्बना है ?
घरको छानो टाल्न खाडी जानुपर्ने
परिवारको मानो भर्न खाडी जानुपर्ने
चोली च्यातिए खाडी
भोटो उध्रीए खाडी
फरिया फाटे खाडी
सुनको कचौरा लिएर चामल भिख माग्नुपर्ने ।
यस्तो चलनको अन्त्य हुँदैन र ?
किन होला है
मैले अरु भन्दा बेग्लै सोचेको मैले ?

रामचन्द्र तिम्सिना (आवाज)
म्यागङ -५ सामरी, नुवाकोट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय