नुवाकोटको म्यागङ लगायत जिल्ला भरीको तापक्रममा गिरावट, चिसोबाट बच्न मौसमविदको सुझाव
November 26th, 2021
देउराली।
दैनिक चिसो बढ्दो क्रममा रहेकाले यसको असरबाट बच्न आम नागरिकलाई मौसमविद्ले सुझाव दिएका छन्।
अहिले (शुक्रबार) बिहान ६ बजे देउरालीको तापक्रम ९° मा झरेको छ भने त्रिशुली बजारको तापक्रम १६° रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै जाडोबाट बच्ने उपाय अपनाउन सल्लाह दिएको हो।
देशका प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा समेत रहने देखिएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले हाल त्यस्तो ठूलो सिस्टम नभएकाले कतै कतै फाटफुट हिउँ पर्ने सम्भावना रहेको बताइन्। बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा पनि हिमपात हुन सक्ने सम्भावना देखिए पनि काठमाडौं उपत्यकाका क्षेत्रमा भने यो सम्भावना नरहेको उनले बताइन्।