नुवाकोट /
झाँक्री प्रकाश भुजेल र ब्रम्हखेलमा उनले चलाएको ल्यान्ड क्रुजर जिपको ठक्करबाट मृत्यु भएका दम्पतीको परिवारबिच सहमति भएको छ।
कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ घर भएका नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो। मृतक परिवार र भुजेल पक्षको बिचमा सहमति भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। उनले भने, ‘अस्पतालबाट शव लगेर दाहसंस्कार गर्न दुवै पक्ष सहमत भएका छन्, आर्थिक विषयमा हामीलाई जानकारी भएन।’


दुर्घटनापछि झाँक्रीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको छ।
झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो। नगरकोटीका दुई जना बच्चा छन्। घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरिरहेको छ।
