पिता श्री कुलप्रसाद नेपाल र माता स्व. चन्द्रकला नेपालको कोखबाट नामसालिङ इलाममा जन्मनु भएकी पुष्पा नेपाल सुवेदीले हालै प्रकाशन गर्नु भएको “धरातलको जून” नामक गजल सङ्ग्रह अहिले मेरो हातमा परेको छ।
इलाम नेपालको सुन्दर ठाउँ पनि हो। जुन ठाउँको भूमि बाँझो नरहने कुरा इलाम घुम्दाको अनुभबाट थाहा भएको छ मलाई। अलैंची, अम्रीसो, ओलन, स्कुस, अदुवा, चियाका बगानहरूले सुन्दर छ इलाम। त्यहाँको मनमोहक दृश्यले लोभिन्छ जो पनि। त्यस्तो सुन्दर ठाउँमा हजारौ पुष्पाहरू फक्रदै गएका पनि छन्।
त्यस्तै फक्रने क्रममा रहनु भएकी पुष्पा नेपाल पुष्पाञ्जलीको नयाँ गजल सङ्ग्रह हालै प्रकाशन भएको छ। हाल झापामा शिक्षण पेशा गर्दै आएकी पुष्पा नेपाल पुष्पाञ्जलीले प्रकाशन गर्नु भएको “धरातलको जून” गजल सङ्ग्रहमा कभर पेज बाहेक १२४ पेज रहेको छ भने कभर पेजमा पुर्णिामाको रातको टहटह लागेको जून देख्न सकिन्छ जसले अध्यारोबाट उज्यालोतिरको संकेत गरेको छ।
निकै सुन्दर आबरण रहेको छ पुस्तकमा।यस पुस्तकको मूल्य रू. ३०० रहेको छ भने अरनिको छापाखाना बिराटनगरले यस पुस्तकलाई बजारमा ल्याएको छ।
यो पुस्तक उहाँकी आमाको सम्झनामा समर्पण गर्नु भएको छ पुष्पा नेपाल पुष्पाञ्जलीले। पुस्तकको पहिलो शुभकामना सन्देश आदरणीय गुरु डा. घनश्याम न्यौपाने परिश्रमीले दिनु भएको छ। दोस्रो शुभकामना गजलकार आवाज शर्माको छ त्यस्तै तेस्रो शुभकामना डा. अच्युत शर्माको र चौथो शुभकामना विष्णुक भट्टराईको रहेको छ।
यस गजल सङ्ग्रहमा ९ पृष्ठ लामो भूमिका हरिप्रसाद पौडेल स्वर्णशिखाको रहेको छ। भूमिकामा स्वर्णशिखाले पुस्तक भित्र रहेका पूरा गजलको चिरफार गर्न भ्याउनु भएको छ। यस कार्यको लागि उहाँलाई धन्यबाद दिनैपर्छ। त्यसपछि दुई शब्द भन्दै लेखीकाले झण्डै चार पेज लामो आफ्नो भनाईहरू राख्नु भएको छ।
बाल्यकाल देखि अहिले सम्मका कुराहरू सबिस्तार वर्णन गर्नु भएको छ। गुरू, आफन्त, र साथीहरू सबैलाई धन्यबाद दिन भ्याउनु भएको छ उहाँले। कोरोनाको समयमा आफ्ना मनका कुराहरू र आफुलाई गजल लेख्न रहर भएको तर सिकाउने मान्छे नभएको कुरा प्रिय बहिनि बालकुमारी घिमिरे गजलीकालाई बताउँदा उहाँले नै आदरणीय गुरु डा. घनश्याम परिश्रमीलाई भनेर परिश्रमी पाठशालामा जोडेपछिका सिक्दै गरेका रचनाहरू रहेछन् यी सब। उहाँलाई यस कार्यमा घरपरिवार र श्रीमान शिवप्रसाद सुवेदीको ठुलो साथ र सहयोग भएको रहेछ। सबै महिला लेखकहरूलाई परिवारबाट यस्तै साथ र सहयोग प्राप्त हुन सकोस् शुभकामना छ।
गजल भन्ने बितिक्कै मोतीराम भट्टको नाम लिनै पर्ने हुन्छ। मोतीराम भट्टले नै गजललाई नेपालमा भित्र्याउने काम गरेका हुन। उनले भारतमा अध्ययन गर्दा गुरु हरिश्चन्द्र लगायतका साथीहरूले गजल लेखेको र वाचन गरेको सुनेर गजल लेख्न सिकेका थिए। नेपाल आएपछि यसलाई प्रयोगमा ल्याएका पनि हुन उनले। त्यसबेला निकै लोकप्रिय बनेको थियो गजल बिधा ।त्यसपछि धेरै साहित्यकारहरूले गजल लेख्दै र गजलको बिकासमा महत्वपूर्ण योगदान गर्दै आउनु भएको छ।
गजललाई जुनसुकै भाषामा पनि गजल नै भन्ने गरिन्छ।
यसको अहिले सम्म अरू छुट्टै भाषामा नाम पनि छैन। अचेल कथा, कबिता जस्तै लोकप्रिय विधा बन्दै गएको छ गजल। गजल बिकासको क्रममा साहित्यकारहरू नरदेब पाण्डे, शम्भु प्रसाद ढुङ्गेल, भूपि सेरचन, बालकृष्ण सम, उपेन्द्र बहादुर जिगर, मनु व्राजाकी, ललिजन रावल लगायतले बहरमा गजल लेख्दै आउनु भएको थियो ।पछिल्लो समय ज्ञानुवाकर पौडेललाई नेपाली गजलको पुनर्जागरण रूपमा हेर्ने गरिएको छ। उच्चशिक्षा अध्ययनको शिलशिलामा गजलको बारेमा सोधपत्र नै तयार पारेर गजल बिधामा “विद्यावारिधि” गर्ने नेपालको पहिलो ब्यक्ति डा. घनश्याम न्यौपाने परिश्रमी हुनुहुन्छ। उहाँले विभिन्न कार्यक्रम, गोष्ठी र पाठशालाहरू मार्फत गजल सिकाउदै पनि आउनु भएको छ। हाल सम्म धेरै गजलकारहरूका पुस्तकहरू समेत प्रकाशन भैसकेका छन्।
पुष्पा नेपाल सुवेदी पुष्पाञ्जलीले प्रकाशन गर्नु भएको यस पुस्तक भित्र रहेका ९० गोटा गजल मध्ये १० गोटा गजल मुतकारिब मुसम्मन सालिम बहरमा रहेका छन् अन्य १० गोटा गजल मुजारे मुसम्मन अखरबमा रहेका छन् ।मीर गजल विभिन्न भेदका ८ गोटा रहेका छन् ।हजज मुसम्मन मक्बुज र हजज मुसम्मन सालिमका बहरका ५,५ गोटा गजल रहेका छन्। झण्डै २५ गोटा गजल एउटा मात्र बहरमा लखिएका छन् भने अन्य बहरका गजलहरू कुनै २ कुनै ३ र कुनै ४ थान रहेका देखिन्छन्। सबै गजलहरू हेर्दा झण्डै ४४ प्रकारका बहर रहेका छन् यस गजल सङ्ग्रह भित्र। सबै गजलहरू ५,५ सेरका रहेका छन् ।आदरणीय गुरु डा. घनश्याम न्यौपाने परिश्रमीको सम्मानमा घोषणा भएको नयाँ लोकप्रिय घनु बहरको गजल उहाँले पेज नम्बर २८ मा राख्नु भएको छ।
बहर: घनु
एकोहोरो माया लगाएर के भो
मैले मात्र जीवन चढाएर के भो ।
आगोझैँ बलेको छ दिल चोट लाग्दा
पुछ्दै आँसु बाहिर रमाएर के भो ।
यो दिलभित्र तिम्रो गढेको छ माया
सारा पत्र मैले जलाएर के भो ।
बहिरोझैँ छ सरकार केही नसुन्ने
हामीमात्र ब्यर्थै कराएर के भो ।
बाँकी नै छ आशा मेरो लक्ष्य चुम्ने
उसले फेरि एक्लो बनाएर के भो ।
यस गजलको मतलाको मिसरा ए उलामा एकोहोरो “रो”लाई रस्व (१) मानेर मात्रा गिरावट गर्नु भएको छ उहाँले ।मतलाकै मिसरा ए सानीमा जीवन “वन” (२) मात्रा मिलावट गर्नु भएको छ उहाँले । दोस्रो सेरको मिसरा ए उलामा “दिल” (२)मात्रा मिलावट गर्नु भएको छ भने मिसरा ए सानीको हिर (२) मात्रा मिलावट गर्नु भएको छ । तेस्रो सेरमा मिसरा ए उलामा दिल (२) मात्रा मिलावट गर्नु भएको छ। त्यस्तै चौथो सेरको मिसरा ए उलामा सर (२) मात्रा मिलावट गर्नुभएको छ । अन्तिम सेर वा मक्ताको मिसरा ए सानीमा उस (२) मात्रा मिलावट गर्नु भएको छ उहाँले । धेरै गजलहरूमा मात्रा मिलावटको प्रसस्त सुबिधा लिनु भएको छ उहाँले।
गजल भनेको विभिन्न प्रकारका फूलहरूलाई उनेर बनाएको एउटा सुन्दर माला हो। गजलको पहिलो सेरलाई मतला भनिन्छ। एउटा सेरमा दुई लाइन हुनेछ यसलाई मिसरा भनिन्छ। सेरको पहिलो लाईनलाई मिसरा ए उला र दोस्रो लाईनलाई मिसरा ए सानी भनिन्छ। मिसरा ए उलाले बिषयको उठान गर्दछ भने मिसरा ए सानीले प्रष्ट पार्दै समापन गर्ने काम गर्दछ।
गजलमा काफिया, रदिफ, सेर र मक्ता रहेका हुन्छन् ।गजलमा काफिया अनिबार्य रहेको छ भने रदिफ अनिबार्य मानिदैन। बहर बिना गजल हुन सक्दैन भने गजलको पहिलो सर्त गायन हो र यसका लागि बहरबद्ध हुनु पर्ने अर्को सर्त पनि हो ।गजल बहरबद्ध नै हुनु पर्छ भन्ने मान्यतामा धरहराझैँ अडिक भएर उभिएकी पुष्पा नेपाल सुवेदी पुष्पाञ्जली आफैले रचना गरेका गजलहरू संकलन गरेर भरखर प्रकाशन भएको पुस्तक “धरातलको जून ” भित्र जम्मा ९० गोटा बहरबद्ध गजल रहेका छन् ।यस पुस्तकभित्र प्रकाशन भएका ९० गोटा सबै गजलहरू मतला, सेर, मिसरा, काफिया, रदिफ लगायतले गर्दा गजलका संरचना भित्र रहेको देखिन्छ।
मतला: गजलको पहिलो सेरलाई मतला भनिन्छ। पहिलो लाइनलाई मिसरा ए उला र दोस्रो लाइनलाई मिसरा ए सानी भनिन्छ। उला र सानीको समन्वयले मतला आकर्षक बनाउने गरिन्छ। सबै सेरहरूमा उला र सानीको सम्बन्ध, क्रिया र कर्ता साथै ब्याकरण सुध्दता अनिबार्य तत्व हो। यस बारेमा पुष्पाञ्जलीले निकै होशियारपूर्वक कलम चलाएको देखिन्छ। जस्तै पहिलो पृष्ठको गजल हजज मुसम्मन मक्बुज बहरबाट काफिया र रदिफ राखेर लेख्न सुरू भएको पहिलो गजलको मतला यस्तो रहेको छ।
कुरा चपाउँदै कला भरेर बोल्दछन् उनी
लुकाउँदा लुकाउँदै रहस्य खोल्दछन् उनी ।
तखुल्लस: गजलको अन्तिम सेरलाई मक्ता भनिन्छ यदि लेखकले अन्तिम सेरमा आफ्नो नाम समाबेश गरेमा तखुल्लस भनिन्छ। तखुल्लसको प्रयोग लेखकले आफ्नो परिचय दिनको लागि गर्ने चलन रहेको छ। यस पुस्तक भित्र पुष्पा नेपाल सुवेदीले तखुल्लसको प्रयोग गर्नु भएको देखिदैन।
काफिया: रदिफको ठिक अगाडिको अनुप्रासिस चल शब्द नै काफिया हो जसले सुन्दर मतला र सेर बनाउन सहयोग गर्दछ। काफिया गजलको अनिबार्य तत्व हो। बिना काफिया गजल बन्न सक्दैन। सबै प्रकारका काफियाहरूलाई बिबेकपुर्ण तरिकाले प्रयोग गरेका कारणले यस पुस्तकभित्र रहेका गजलहरू सुन्दर र प्रभाबकारी हुन पुगेका छन्।
रदिफ: रदिफ गजलमा अनिबार्य होइन ता पनि काफियापछि आउने वाक्य वा शब्दलाई रदिफ भनिन्छ। यसले गजललाई गायन योग्य अर्थात लयात्मक बनाउँदछ। यस पुस्तकमा झण्डै १०,१२ गोटा गजलहरू रदिफ बिना तयार पारिएका छन् बाकी गजलहरू रदिफ सहितका रहेका छन् ।
अर्कान: बहर भनेको छन्द नै हो जसले रचनालाई वाचन वा गायनलाई सहज बनाउने काम गर्छ। छन्दमा कठोरता छ भने बहरमा केही निशिचित तोकिएका लचकताहरू छन् ।गजलमा लघुलाई (१) र गुरूलाई (२) ले संकेत गर्ने प्रचलन रहेको छ। उहाँले रचना गर्नु भएको गजलहरूमा अर्कान भङ्ग भएको देखिदैन। गायनमा असर नपर्ने गरि लचकताको प्रयोग भने भरपुर मात्रामा गरेको देखिन्छ।
मक्ता: गजलको अन्तिम सेरलाई मक्ता भनिन्छ। सबै मक्ताहरू वजनदार रहेकाछन् यस गजल सङ्ग्रहभित्र ।जस्तै: धेरै प्रकारका बहरमा गजल लेख्दै नब्बे पृष्ठको अन्तिम गजल मुतकारिब मुसम्मन महजुफ बहरमा गैर रदिफ अर्थात रदिफ बिनाको मक्तामा यसरी विसर्जन भएको छ उहाँको गजल।
मैलो पार्यौं गलत भावनाले
स्वर्गजस्तो थियो राजधानी ।
लचकता : गजलमा लचकता भन्नाले मात्रामिलावट, मात्रागिरावट र मात्रा चढावटलाई बुझाउँदछ। मात्रामिलावट: दुई लघु बर्णलाई एउटा गुरु बनाउने नियम नै मात्रा मिलावटको नियम हो भने नेपालीमा आ, ई,ऊ,ए र ओ लाई बहर मिलाउदा रस्व मानेर प्रयोग गर्नु भनेको नै मात्रा गरिरावट हो। मात्रा चढावट भन्नाले अ, इ,उ र ऋ बर्णलाई दिर्घ वर्ण मानेर गजलमा प्रयोग गर्नु भनेको नै मात्रा चढावट हो।
बहरमा गजल लेख्दा गायनमा असर नपर्ने गरि मात्रामिलावट, मात्रागिरावट, र मात्रा चढावटको नियमलाई कुशलतापुर्बक पालन गरेर गजल लेख्नु भएको छ पुष्पा नेपाल सुवेदीले। पुष्पा नेपाल सुवेदीले
प्रकाशन गर्नु भएको यो पुस्तक भित्र बिबिध भावमा गजलहरू तयार गरिएका छन् ।जस्तै महिला अधिकार, महिला ससक्तिकरण, देशभक्ति, निराशा, प्रगतिशील, परिवर्तनकारी, व्यङ्ग्य, प्रणयभाब, भ्रष्टाचारको विरोध, प्रेमिल बिषयहरू समेटेर गजल तयार पारेर प्रकाशन गर्नु भएको छ। सबै सेरहरू दमदार बनाउने प्रयास गर्नु भएको छ उहाँले। पाठशालामा र घरमा गरेको निरन्तर साधनाको उपज नै यो गजल सङ्ग्रह हो।
धेरै प्रकारका स्वादका भावहरू यस गजल सङ्ग्रहको पुस्तकभित्र पढ्न पाइने हुँदा कैयौँ गजलहरूले पाठकहरूको मन छुन पनि सक्छ। केलाएर हेर्दा कैयौं दोषहरू पनि भेट्न सकिन्छ ।दोष केलाउन लाग्नु भन्दा यो पुस्तकले समाजलाई के दियो त्यो कुरा महत्त्वपूर्ण हुन्छ। यो उहाँको पहिलो कृति समेत भएको हुँदा विभिन्न खाले दोष र केही कमीकमजोरीहरूलाई आउदा दिनहरूमा सुधार गर्दै जानु नै हुनेछ। यसमा उहाँको ध्यान पुगोस शुभकामना छ। निरन्तर साधना र अभ्यासले नै मान्छेलाई दोष रहित बनाउन सक्छ। पुन: अर्को गजल सङ्ग्रहको कामना गर्दै बिदा लिन्छु। धन्यबाद।
जय साहित्य ।।
जय धरहरा ।।
ध्रुबप्रसाद गजुरेल
तारकेश्वर नगरपालिका -३ काठमाडौ
नोट: (यो गजल सङ्ग्रहका समीक्षक नेपालको ऐतिहासिक धरोहर धरहरा पुन: निर्माण अभियानका अभियन्ता पनि हुनुहुन्छ)