काठमाडौ/
इजरायल र प्यालेस्टाइन स्थित हमास बीच युद्ध शुरू भएको छ। हमासको दावी अनुसार ७००० भन्दा बढी मिसाइलद्वारा इजरायलका बिरुद्ध गरिएको आक्रमणमा १०० भन्दा बढी इजरायली नागरिक मारिएको छ भने कम्तिमा ७०० घाइते भएका छन्।हमासका पैदल लडाकु समेत दक्षिणी इजरायल क्षेत्रमा प्रवेश गरेर इजरयली टैंक समेत कब्जामा लिएको दृष्य समेत प्रसारित भएका छन् ।

नेपालीहरू पनि घाइते

गाजासंगको सिमावर्ती सात इजरायली इलाकाका २२ स्थानमा द्विपक्षीय भिडन्तहरू भइरहेको र हमासले सयौं इजरायली नागरिकलाई बन्दी बनाएको पनि वताइन्छ। हमासले यो आक्रमणलाई जेरुसेलम स्थित अल अक्सा मस्जिदमा भएको इजरायली कारबाहीको प्रतिकारमा भएको बताएको छ। पश्चिमी जगतले ‘आतंकी’ मानेको हमास प्यालेस्टाइनीहरू मध्ये सबैभन्दा चरमपन्थी मानिन्छ ।

हमासको आक्रमणको लगत्तै इजरायलले आफू ‘युद्धमा प्रवेश गरेको’ घोषणा गरेको छ। अर्को शब्दमा भन्ने हो भने इजरायलका तर्फबाट युद्धको घोषणा भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेत्यानयाहुले भनेका छन्, ‘हामी युद्धमा छौं र हामी जित्नेछौं।’ घोषणा लगत्तै इजरायलले प्यालेस्टाइनको गाजा क्षेत्र स्थित हमास केन्द्रहरू लक्षित हवाई आक्रमण शुरू गरिसकेको छ।

शुरूमा हवाई आक्रमणबाट हमासको सैन्य क्षमतालाई सकभर कमजोर बनाउने लक्ष लिएको देखिन्छ। प्यालेस्टाइनी श्रोतका अनुसार इजरायली प्रत्याक्रमणमा झण्डै २०० नागरिक मारिएका छन् भने १७०० नागरिकहरू घाइते भएका छन्।

समुद्रको बाटो इजरायल छिर्न खोजेका दर्जनौं आक्रमणकारीलाई इजरायली जलसेनाले मारेको पनि बताइएको छ। इजरायलको बिगतको ईतिहास र ब्यवहारलाई हेर्दा युद्धले अत्यन्तै भयावह मोड लिने अनुमान गरिएको छ। संघर्षका प्रारम्भिक घटना हेर्दा परिस्थिति त्यतै तर्फ गएको देखिन्छ। इजरायली सुरक्षा अङ्गको आपतकालीन बैठक शुरू भएको छ।

नेतानयाहुको बिरोधमा संघर्षरत जगेडा सैनिक समुहले पनि यो युद्धमा आफू देशका लागि लड्न तयार रहेको बताएको छ। इजरायलका तर्फबाट हवाई आक्रमणका साथसाथै घातक स्थल आक्रमण शुरू हुने पक्कापक्की छ।

यसपल्टको हमास आक्रमणले इजरायललाई आश्चर्यचकित तुल्याएको छ ।यसलाई इजरायली खुफियातन्त्रको नाकामीका रूपमा समेत लिइएको छ। यो तहको एकैपटकको संगठित आक्रमणको अपेक्षा पटक्कै गरिएको थिएन। झण्डै ५० बर्ष अघि इजरायलीहरू यहुदीहरूको सबैभन्दा ठूलो चाँड योम किपुर मनाइरहेका बेला यस्तैखाले चौतर्फी आकस्मिक घातक आक्रमण गरिएको थियो। अहिले पनि योम किपुरकै मौसम छ र आज शनिबार यहुदीहरू सबाथ (साप्ताहिक शान्त प्रार्थना) मनाउँदै थिए। यी सब कारणले पनि इजरायलले यसलाई आफ्नो प्रतिष्ठाको बिषय बनाउने र अत्यन्तै आक्रामक ढङ्गले प्रत्याक्रमण हुने अनुमान गरिएको छ। आइतबारका दिन इजरायलका स्कुल कलेजहरू बन्द गरिएका छन्।

युद्धको यो परिस्थितिलाई लिएर अन्तर्राष्ट्रिय प्रतिक्रिया आउन शुरू भएको छ। अमेरिकाले भनेको छ, ‘इजरायललाई आत्मरक्षाको अधिकार छ। हामी इजरायली जनताको साथमा छौं ।’ अमेरिकी राष्ट्रपति बाइडेन र इजरायली प्रधानमन्त्री नेतनयाहु बीच टेलिफोन वार्ता समेत भएको छ। फ्रान्स लगायत पश्चिमा जगतले हमासको आतंकी आक्रमण भन्दै निन्दा गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायल माथि आतंकी हमला भएको बताउँदै भारत इजरायलको साथ भएको वताएका छन् ।रूसले भने संयम अपनाउन आह्वान गरेको छ। हमासको पक्षमा रहेको ठानिएको अरब जगत यो समाचार तयार पार्दा सम्म चुप छ।

हमासको आक्रमणमा केही नेपालीहरू समेत घाइते भएको बताइएको छ। इजरायलस्थित नेपाली दूतावासका प्रवक्ता अर्जुन घिमिरेले घाइतेहरुको विवरण संकलन गर्ने काम भइरहेको जानकारी दिएका छन् ।प्यालेस्टाइन र इजरायलबीच चलिरहेको युद्धमा इजरायलले कब्जा गरेको सहरमा बसोबास गरेको भन्दै प्यालेस्टाइनी समूहले १५ नेपाली नागरिक बन्धक बनाएको अपुष्ट समाचार प्राप्त भएको छ। प्यालेस्टाइन लडाकुको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएको भन्ने समाचार बाहिर आएपनि आधिकारीक पुष्टी गर्न यहाँ विदेश मन्त्रालयसँग विवरण लिने कार्य भैरहेको तेल अविवस्थित नेपाली दूतावासका प्रथम सचिव अर्जुन घिमिरेले जानकारी दिए।

यसैबीच झापाली समाज इजरायलका अध्यक्ष दिपक प्रसाद ओलीले राजधानी दोहा समाचारदाता योगेन योगीलाई दिएको जानकारी अनुसार मिसाइल आक्रमणको साइरन बजेको ६० सेकन्ड भित्र बंकरमा छिर्नुपर्ने हुँदा भाग्ने क्रममा १३ जना नेपालीहरू मध्ये ४ जना हडवडीमा खेत तर्फ लागेको संभावना देखियो। ती चारजनासंग सम्पर्क भएको छैन। बाँकी ९ जनालाई स्थलमार्गबाट आएका हमास लडाकुले हानेको गोली लागेको छ। यी ९ मध्ये ७ जना अचेत रहेको देखिन्छ भने २ जना होसमा रहेको बुझिएको छ।

होसमा रहेका दाङका हेमाङ कट्टेल र प्रबिण डांगीलाई केही समयमा इजरायली सेनाको सहयोगमा उद्धार गरिने छ। दिपक ओलीका अनुसार बन्धक बनाइएको भन्ने चाहिँ होइन। प्राप्त जानकारीलाई आधार वनाउँदा बेहोस सात जनाको अवस्था ठ्याक्कै बताउन सकिने स्थिति नभए पनि दुईजनाको अवस्था गम्भीर रहेको बुझिएको छ।

तेल अबिबस्थित नेपाली दूतावासले अपिलसमेत जारी गरेको छ । ‘इजरायलको गाजासँगको सिमाना लगायत विभिन्न क्षेत्रमा हाल द्वन्द्व चलिरहेको सबैलाई जानकारी नै छ। यस्तो अशान्त वातावरणमा आफ्नो सुरक्षाको ख्याल राख्नुहुन र स्थानीय सुरक्षा निकायको निर्देशन अक्षरशः पालना गर्नुहुन सबै नेपाली समुदायमा अनुरोध छ।

साथै, अप्ठ्यारोमा पर्नुभएका नेपाली नागरिकहरूको सहयोग तथा उद्धारका लागि दूतावासले इजरायलका सम्बन्धित निकाय तथा अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहेको ब्यहोरा अनुरोध छ। पुनश्च: अप्ठ्यारो परिस्थिति छ, हामी सबै त्रसित छौँ। तर पनि यसको नकारात्मक सन्देश जाने गरी सोसल मिडियाहरूमा सेयर गरेर अरूलाई त्रसित र प्यानिक नगराउनुहोला,’ अपिलमा भनिएको छ।स्रोत बिबिसी नेपाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय