झरना साहित्यिक परिवारको दोस्रो बकैया साहित्य महोत्सवमा पहिलो पटक हेटौँडामा कवि सुमित्रा सुमीसँगै पहिलो पटक भेट भएको कवि हुन् – रुपा थापा। पहिलो भेटमा मकवानपुरका केही पर्यटकिय स्थानहरुमा गरिएको सँगैको घुमघाम र बकैया साहित्य महोत्सवमा उहाँले पढ्नुभएको कविताले सामान्य प्रभाव पारे पनि जब उहाँको कविता सङ्ग्रह पढियो तब केही नलेखी बस्न सकिएन।

नुवाकोटे साहित्यका सशक्त हस्ताक्षर रुपा थापा साहित्यमा निरन्तर लागि रहनुभएको एक नारी हस्ताक्षर हुन् ।लामो समयबाट साहित्यमा साधनारत कवि थापाले बिचमा लेखनलाई सुस्तता दिए पनि पछिल्लो समयमा थप उर्जासहित लेखीरहनु भएको छ।

“शारीरिक रुपमा अपाङ्गता भएर पनि लामो समयसम्म अपाङ्गता भएका ब्यक्तिहरुको हकअधिकारका लागि निरन्तर लागिरहदाँ आफैँले भोगेका विविध चुनौती लेख्न लायक छन्।” भन्ने थापाका कविताहरु सिमान्तकृतहरुको आवाज बनेर आएका छन् ।उहाँका कविताहरुमा बिम्बहरु छन्, भावहरु छन्, अलङ्कारका भारीमो कविताको आन्तरिक सौन्दर्य छोपिएका छैनन् र प्रतीकको प्रयोग सही रुपमा गरिएका छन्।

२०७८ साल चैत्रमा साहित्य सङ्गम नुवाकोट प्रकाशक रहेको ‘सिङ्गो जूनको प्रतीक्षामा’ नामक कविता सङ्ग्रह बजारमा ल्याउनुभएको हो )। समाजमा रहेका बिम्बहरुलाई सहजताका साथ आफ्नो कवितामा प्रयोग गर्न सक्षम कवि थापाको ‘सिङ्गो जूनको प्रतीक्षामा’ कविता सङ्ग्रहमा ५० वटा कविताहरु सङ्ग्रहित रहेका छन् ।कवि थापाका कविताहरु विभिन्न पत्रपत्रिका, अनलाइन तथा अन्य माध्यममा फुटकर रुपमा प्रकाशित प्रसारित भए पनि ‘सिङ्गो जूनको प्रतीक्षामा’ उहाँको पहिलो कविता सङ्ग्रह हो ।

सङ्ग्रहको पहिलो कविता ‘कालो टिका’ हो। आदिम समयले लगाएको अहिलेसम्म पनि हामीले लिएर हिडिरहेकोमा ब्यङ्ग्य गरिएको छ । ‘चुरोटको ठुटा’ एउटा बेजोड कविता लाग्छ। हामीले नसोचेको बिम्बलाई कवितामा कविले भेट्नुभएको छ। चुरोटको ठुटालाई जीवनसँग तुलना गर्नुभएको ‘चुरोटको ठुटा’ बाट प्रस्तुत छ यो अंश:
भन्न त भन्छन् —
‘धुम्रपान स्वास्थ्यका लागि हानिकार छ ’ भनेर।

तर बेच्नेले धुवाँ नै बेचिदिएपछि
म भने बेफिक्री
सडकमा
एउटा धुवाँ बनेर
त्यही धुवाँलाई उडाउदै हिडिरहेछु । ( पृ १३)

यथार्थवादी कविता ‘हराएपछि’ले मानिसले जीन्दगीमा धेरै चिजहरु गुमाउदै जाने यथार्थलाई उजागर गरेको छ। ‘युवा’ शीर्षकमा लेखिएको कवितामा कविले देशलाई स्वर्णिम बनाउन लाग्न अनुरोध गर्नुभएको छ। देशको उज्यालो भविष्यको सपना देख्नु अघि युवालाई सम्झनुपर्नेमा कवि सचेत रहनुभएको छ यस कवितामार्फत ।

यो देशमा सिमान्तकृतहरु पछाडि पारिएकोमा आक्रोश ब्यक्त गर्दै निहित्थाहरुका सँधै गला रेटिने गरेको यथार्थ छ कविता ‘बादशाहका ताजहरु’मा। ‘उत्सव’ कवितामार्फत जीवन छोटो भएकाले हामीले कति उत्सबहरु मनाउन पाउने हो भन्ने प्रश्न गर्नुभएको छ। ‘साथी’ कवितामा जीन्दगीमा धेरै साथीको सङ्गत हुने भएपनि केही यादहरु गाढा हुनेमा कवि सचेत हुनुहुन्छ। ‘मृत्यु र प्रेम’का बारेमा कविको आफ्नै धारणा छ। उहाँ मृत्युपछि पनि अहिलेजस्तै भेटिरहन र प्रेम गर्न पाईयोस् भन्ने इच्छा राख्नुहुन्छ।

‘मृत्युको तमसुक’ मृत्युको तमसुक गरेपछि मान्छे फेरी नफर्कने यथार्थलाई कवि मिठो तरिकाले चित्रण गर्नुभएको छ। ‘भक्त’ कवितामा हामी जहिल्यै शक्तीको पुजारी भएकोमा आक्रोश ब्यक्त गर्नुभएको छ भने ‘भोली फेरी ब्युँझनेछु’ मा जीन्दगीप्रति आशावादी भाव ब्यक्त गर्नुभएको छ। ‘एउटा मान्छे बन्नु छ’ र ‘छाउको रगत’ नारीबादी कविताहरु हुन् भने ‘किन जोगाएनौ पृथ्वीलाई’ र ‘शरद्’ कविताहरुले पर्यावरणमाथिको बिष्यवस्तु उठाएका छन्।

‘इतिहास तिमिले रच्नु छ ’ कविताले जीवनमा केही गर्न प्रेरणा दिएको छ। जीन्दगीमा केही गर्नुपर्छ भन्ने भाव छ। यसैगरी ‘पितृसत्ताको पहरेदार’मा पितृसत्तामाथिको विद्रोही चेत छ। कवितामा शालीन विद्रोह गरिएको छ। यसरी कवि विद्रोही पनि बनेको पाउछौँ। ‘आत्महत्या’, ‘जवाफ’, ‘जातको प्रश्न’ र ‘त्यस्तो के छ ?’ लगायतका कवितामा उहाँ समाजसँग लड्नु भएको छ –कवितामार्फत।

‘सिङ्गो जूनको प्रतीक्षामा’ शीर्षकको कविताबाट यो सङ्ग्रहको नाम राख्नुभएका कवि थापाले यो कवितामार्फत पूर्ण जीन्दगीको माग गर्नुभएको छ।

उहाँले यो कवितामा आफुलाई धर्तिको रुपमा प्रस्तुत गर्दै हरेकको जीवनमा सिङ्गो जूनको आवश्यकता औँल्याउनुभएको छ । ‘बन्दी पङ्खहरु’ कवितामा उहाँले बिदेशिने प्रबृतिका बारेमा उठाउनुभएके छ। ‘कारोना भाइरस’ कविता पछिल्लो समयहामीले भोगेको महामारीका बारेमा लेखिएको छ।

कवि थापाले आफ्नो कविताहरुमा देश लेख्नुभएको छ, समाज लेख्नुभएको छ। उहाँले महिलाका पीडा, महिलाका मुद्धाहरुका अलावा समग्रमा यो हाम्रो पुस्ताले अहिले भोगीरहेको सबै खाले समस्याहरुलाई उठाउने प्रयास गर्नुभएको छ। होला, कतिपय बिषयमा पुरा खुल्न सक्नुभएन होला तर उहाँले धेरै बिषयवस्तुमाथि लेख्नुभएको छ।

मान्छे हो सबै कवितामाथि बिश्लेषण गर्ने र खोट खोज्दै जाने हो भने उहाँका कवितामाथि पनि खोट लगाउन त सकिन्छ तर कवितामा गरिएको बिषयबस्तु उठान र त्यसको बिश्लेषण गर्ने हो भने यो सङ्ग्रह नेपाली साहित्यमा पछिल्लो समयमा आएका कविता सङ्ग्रहरुको तुलनामा कमजोर छैन, उम्दा कविता सङ्ग्रह हो भन्दा फरक पर्दैन।

‘सिङ्गो जूनको प्रतीक्षामा’ शीर्षकअनुसारको विषयवस्तु समेटिएको काव्यकृति हो। यस कृतिले समग्रमा अधिकारको मामिला बोल्नुपर्छ भन्ने सन्देश दिएको छ। हरेक मान्छेले आफ्नो जीवनमा आधा जूनको सायद प्रतीक्षा गर्दैन। हो, उहाँले पनि त्यही मानवीय गुण अनुसार सिङ्गो जूनको खोजी गरिरहनुभएको छ ।

यसरी उहाँले जीवनका अनेक यथार्थलाई यस कृतिमा उजागर खोज्नु भएको छ ।समग्रमा कृतिमा मानवीय चेत,नारी अस्तित्व, प्रकृतिप्रेम, राष्ट्रप्रेम, स्वतन्त्रता, हाम्रो जनजीविका, सामान्य मानिसको दैनिक जीवनमा पैदा हुने आरोह–अवरोह, सामाजिक बिकृति, विसङ्गति एवम् मानवीय जीवन लेखिएका छन्।

समिक्षक: मसान उपासक हेटौंडा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय