काठमाडौ /
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न परिपत्र जारी गरेको छ ।
यसअघि चैत २२ गते विभागले मावलीको थरबाट जन्मदर्ता गर्न परिपत्र गरेको थियो ।त्यो परिपत्रको व्यापक आलोचना भएको थियो।
आज जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ। विभागले ‘मावली थर’ को सट्टा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ।
यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ।
परिपत्रमा नेपालभित्र फेला परेको पितृत्व र मातृत्वको ठेगान नभएको बच्चाको कुनै पनि परिवार नभएको प्रमाणित भएको बच्चा फेला परेमा हेरचाह गर्ने कानुनबमोजिमको संरक्षकले दिएको ठेगाना, नाम, थर राखी जन्मदर्ता गर्नुपर्ने उल्लेख छ।
बाबु, आमाको कानुनबमोजिम सम्बन्धविच्छेद भई आमासँग रहने छोराछोरीको जन्मदर्ता गर्दा बाबुको स्थायी ठेगानामा दर्ता नभएको यकिन गरी आमाको हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिने तथा कानुनबमोजिम कारागारमा सजाय भोगिरहेका महिलाबाट जन्म भएको बच्चाको जन्मदर्ता गर्दा कारागार कार्यालय प्रमुखबाट सूचना फाराम प्रमाणित भई आएमा सम्बन्धित व्यक्तिको स्थायी ठेगाना रहेको वडा कार्यालयमा बच्चाको जन्मदर्ता गरिदिन भनिएको छ ।
विगभाले लैंगिक भूमिकालाई उच्च सम्मान गर्दै नेपालको संविधानको धारा ३९ अनुसार संरक्षण गर्न प्रत्येक बालबालिकालाई आफ्नो पहिचानसहित नामकरण र जन्मदर्ताको हकका लागि उल्लिखित परिपत्रका सम्बन्धमा थप स्पष्ट गरिएको जनाएको छ।
