माओवादी केन्द्र, नेकपा एस र राप्रपाले आज घोषणापत्र सार्वजनिक गर्ने

ताजा समाचार राजनीति

नुवाकोट /
आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले धमाधम आफ्नो घोषणापत्र सार्वजनिक गर्न थालेका छन्। सोही क्रममा आज सोमबार ३ राजनीतिक दलहरूले आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत (समाजवादी) र राप्रपाले चुनावका लागि तयार गरेको घोषणापत्र सोमबार सार्वजनिक गर्दैछन् ।माओवादीले सोमबार दिउँसो तीन बजे पार्टी हेडक्वार्टर पेरिसडाँडामा एक कार्यक्रमबीच पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिएको कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए ।

माओवादीले पार्टीका जनवर्गीय संगठन, विभाग र विभिन्न ११ क्षेत्रका विषय विज्ञसँग छलफल गरेर घोषणापत्र तयार गरेको हो ।सबै क्षेत्र र पेशा व्यवसायलाई समेट्ने गरी ५ वर्षे योजना घोषणापत्रमार्फत आउने ढकालको भनाई छ ।

माओवादीले आगामी पाँच वर्षभित्र समाजवादको आधार तयार गर्ने योजनासहितको घोषणापत्र तयार गरेको छ। उक्त दलले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा र संविधानको कार्यान्वयन गर्दै समाजवादको आधार निर्माण गर्ने योजनासहितको घोषणापत्र तयार गरिएको घोषणापत्र निर्माणमा संलग्न एक नेताले बताए ।

त्यस्तै नेकपा एकीकृत समाजवादीले पनि सोमबार चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।उक्त पार्टीले दिउँसो ३ बजे बानेश्वरस्थित पार्टी कार्यालयमा कार्यक्रम गरेर घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।एकीकृत समाजवादीको घोषणापत्र तयारीका लागि उपमहासचिवत्रय प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेललाई जिम्मेवारी दिइएको थियो ।

समाजवादीले घोषणापत्रको नारा ‘राष्ट्रिय स्वाभिमान, संविधानको रक्षा र स्थिरता हाम्रो सरोकार, आर्थिक सामाजिक रूपान्तरण र समृद्धि समाजवादको आधार’ तय गरेको छ ।

त्यसैगरी राप्रपाले पनि सोमबार घोषणापत्र सार्वजनिक गर्दैछ। त्यसका लागि बिहान साढे ११ बजे बानेश्वर बैङ्क्वेट थापा गाउँमा कार्यक्रम आयोजना गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। उनका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *