नुवाकोट /
११औँ महाधिवेशनपछि गिरिजाप्रसाद कोइराला हुँदै १२औँ महाधिवेशनपछि सुशील कोइरालासँग ४० प्रतिशतको भागवण्डालाई शेरबहादुर देउवाले नै संस्थागत गरेको आरोप कांग्रेस नेताहरु नै लगाउँछन् ।१०औं महाधिवेशनपछि फुटेर दुईटुक्रा भएको नेपाली कांग्रेस ११औँ महाधिवेशनपछि मात्र एकतामा फर्किएको थियो ।
नेपाली कांग्रेस प्रजातान्त्रिकलाई एकता गरेर नेपाली कांग्रेसमा विलय गराएका देउवाले एकता गर्दा नै सबै अवसरहरूमा ४० प्रतिशत प्रतिनिधित्व आफूले पाउनुपर्ने सहमति गरेका थिए ।१२औँ महाधिवेशनसम्म उनले त्यो सहमतिकै जगमा ४० प्रतिशत भागवण्डाको उपयोग गरे ।
१२औंं महाधिवेशनमा सुशील कोइरालासँग चुनाव लडेका देउवा पराजित भए ।तर, उनले सुशील कोइरालासँग पनि ४० प्रतिशतको भागवण्डालाई भने निरन्तरता दिए ।१३औँ महाधिवेशनबाट देउवा एकीकृत कांग्रेसको पहिलोपटक सभापति बने । त्यसपछि देउवाले पनि ४० प्रतिशत भाग रामचन्द्र पौडेल समूहका लागि छुट्टयाउँदै आएका थिए ।
१४औँ महाधिवेशन नजिक पुग्दा देउवा पुनः सरकारमा गए । तर, त्यो सरकारमा जाँदा भने देउवाले पौडेललाई ४० प्रतिशतबाट बञ्चित गराए । गतवर्ष मंसिरमा भएको १४औं महाधिवेशनबाट देउवा दोस्रो कार्यकाल कांग्रेसको सभापति निर्वाचित भएका छन् । यो महाधिवेशनमा पहिलेभन्दा उनी बलियो भए । तर, उनलाई आफूले संस्थागत गरेको ६०÷४० भागवण्डा भने भारी परिरहेको छ । त्यसैले उनले कार्यान्वयन गरिरहेका छैनन् ।
सभापतिमा देउवा निर्वाचित हुँदा झन्डै ४१ प्रतिशत मत ल्याएर पराजित भएका डा. शेखर कोइरालाले आफू भागवण्डाको पक्षमा नरहेको बताएका थिए । उनले पार्टी संस्थागत रूपमा चलोस्, कार्यकर्ताले न्याय पाउन् मेरो निम्ति भाग चाहिँदैन भनेपछि उनकै समूहका धेरै नेता तथा कार्यकर्ता उनीसँग रिसाए । उनले सभापतिले सबैलाई संरक्षण गर्नुहुन्छ भने मैले किन भाग लिनुपर्यो भन्दै कार्यकर्तालाई सम्झाए पनि ।
तर, नेविसंघ, नेपाल किसान संघ, तरुण दल, महिला संघ र आदिवासी जनजाति संघ गरी पाँच भ्रातृ संस्थाको अध्यक्ष चयन गर्दा सल्लाहसमेत नलिएको भन्दै शेखर पक्षले देउवासँग प्रतिशतमै भाग दाबी गर्ने निर्णय गरे । त्यसयता उसले ४० प्रतिशत सबै स्थानमा आफ्नो दाबी रहने बताउँदै आएको छ ।
अहिले आसन्न मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फ उमेदवारको सूची दलहरूले बुझाइसकेका छन् । प्रत्यक्षतर्फका उमेदवार छान्ने चटारोमा दलहरू छन् । कांग्रेसले सत्ता गठबन्धनलाई चुनावी गठबन्धनमै राखेर जाने तयारी गरेका कारण उसले पाउने सिटको टुंगो लागिसकेको छैन । तर, कांग्रेसमा समूहगत दाबी भने दबाबकै रुपमा उठिरहेको छ । महाधिवेशनमा देउवासँग प्रतिस्पर्धा गरेका शेखर कोइराला समूहले कांग्रेसले पाउने सिटको टुंगो नलाग्दै ८० सिटको ४० प्रतिशत हुनेगरी ३२ सिटमा दाबी प्रस्तुत गरेको छ (भलै कांग्रेसले त्यो भन्दा बढी सिट आफूले लिँदै छ) ।
उसले गरेको दाबीमा कतै देउवाले माओवादीको भागमा दिइसकेका छन् । धेरै ठाउँमा स्वाभाविक रुपमा पाउने उमेदवार प्रस्तावित छन् ।२७ सिटमा घट्न नसक्ने शेखर समूहको अडान छ ।
“चुनाव हारेको समूहलाई कांग्रेस नै होइनौँ भन्नुपर्यो होइन भने चुनाव लड्नका लागि उपयुक्त ढंगले टिकट वितरण हुनुपर्यो,” शेखर समूहका एक नेताले भने, “हैन भने गठबन्धनमा उहाँ चुनाव लड्नुहोस्, हामी कांग्रेसका तर्फबाट छुट्टै निर्वाचनको तयारी गर्छौं ।”
शेखर समूहले गरेको यो दाबी देउवाका लागि चुनौती बनिरहेको छ ।
तर, देउवालाई शेखर समूहलाई भाग दिने बाध्यतासँगै आफ्नै समूह व्यवस्थापनको पनि चुनौती छ ।१२औँ महाधिवेशनमा विपक्षी टिमका रामचन्द्र पौडेल, डा. शशांक कोइराला र प्रकाशमान सिंहदेखि देउवा समूहबाटै छुट्टै चुनाव लडेर दोस्रो चरणमा देउवालाई जिताउन लागिपरेका विमलेन्द्र निधिसम्म देउवासँगै छन् ।
अझ १३औं महाधिवेशनमा दोस्रो चरणमा देउवालाई जिताउन निर्णायक मानिएका कृष्ण सिटौला पनि १४औँ महाधिवेशनमा पुग्दा देउवाकै समूह भएर महाधिवेशनमा काम गरेका थिए । यी सबै समूहको व्यवस्थापनले देउवा समूहका नेता कार्यकर्तालाई चिन्तित बनाइरहेको छ ।
नौ सिटमा सिटौलाको दाबी
सिटौला समूहका एक नेताका अनुसार सिटौलाले आफ्नो समूहका भनेर छुट्टै दाबी गरेका छैनन् । तर, देउवालई टिकट दिनैपर्ने भनेर सुझाएका नौ निर्वाचन क्षेत्र छन् । झापाका तीन क्षेत्र आफूसहित नेताहरू सुधीर सिवाकोटी र देउमान थेवेका लागि टिकट मागेका सिटौलाले संखुवासभामा तारामान गुरुङ र मोरङको एउटा क्षेत्र भीम पराजुलीका लागि मागेका छन् । बारामा उमाकान्त चौधरी, काठमाडौंमा भिमसेनदास प्रधान, काभ्रेमा शिव हुमागाईं, दोलखामा कुन्दन काफ्लेका लागि टिकट मागेका छन् । गण्डकी प्रदेशमा प्रदीप पौडेलका लागि टिकट मागेका सिटौलाले अन्य प्रदेशमा भने दाबी गरेका छैनन् ।
क्षेत्रनम्बर १ उनी आफैँ उमेदवार हुँदैछन् । क्षेत्र नम्बर–१० मा उनी निकटकै नेता राजन केसीको टिकट सुनिश्चित छ ।
भक्तपुरमा एउटा निर्वाचन क्षेत्रमा कांग्रेस लड्ने हुँदा जिल्ला सभापतिसमेत रहेका देउवा निकट नेता दुर्लभ थापा बलिया आकांक्षी छन् ।ललितपुरमा एउटा मात्र क्षेत्र पाउने हुँदा त्यहाँ पनि देउवा निकटकै उदय शमेशर राणा प्रमुख आकांक्षी हुन् ।देउवा समूहका एक नेताका अनुसार शशांक कोइरालाले पनि थुप्रै नाम टिकटका लागि सिफारिस गरेका छन् । तर, त्यसले देउवालाई अप्ठेरो भने पारेको छैन ।
“शशांकले सिफारिस गरेका ९० प्रतिशत नाम शेखरले दाबी गरेका नामसँग मिलेका छन् ।त्यसैले सभापतिज्यूलाई त्यसले कुनै अप्ठेरो पारेको छैन,” ती नेताले भने, “रामचन्द्र पौडेल पनि शेखरबाट आएका ७५ प्रतिशत नाममा विमति जनाउनु हुने छैन भन्ने विश्वास हामीलाई छ ।”उनले केही व्यक्तिका लागि मात्र सिट छुट्टयाउँदा देउवा टिमलाई कुनै असर नपर्ने उनको भनाइ छ ।रासस