प्रमुख राजनीतिक दलका ‘शीर्ष’ नेताहरूको नालायकीपन र सत्तालिप्साले मुलुक पुन: एकपटक गम्भीर राजनीतिक संकटबाट गुज्रीरहेको छ। गठबन्धनको नाममा विधि ,विधान, सिद्धान्त र दर्शन मिल्काएर कालेकाले मिलेर भाले खाँदैछन। यसैले त यदाकदा चिया पसल र भट्टि गफमा सुन्न पाईन्छ “यिनै नेताको नेतृत्व देशमा रहुन्जेल अर्को मध्यावधी निर्वाचन पछि पनि देशले निकास पाउँदैन” भन्ने तर्कमा दम छ।

नेपालमा नैतिकताका आधारमा नेतृत्वबाट हट्ने चलनको बिकास भएको छैन।बरु नेतृत्व छाड्नु पर्यो भने पार्टी नै फुटाउने कु-संस्कारको राजनीतिक परिपाटी बसेको तितो यथार्थ हामी सामु रहेको छ।

यसैले २० वर्षसम्म महाधिवेशन नगरे पनि ,१० बर्षसम्म ताजा जनादेश नखोजिए पनि पार्टी उसैको पेवा र सरकार यिनिहरु कै अखडा बनिरहन्छ।
संसद्को चुनाव हार्ने व्यक्ति पार्टीको नेता हुन्छ अझ भनौं त हारुवा चरुवाहरु झ्यालबाट चोरबाटो हुँदै रास्ट्रीय सभामा छिर्छन, हिजो जे देखिएको थियो भोलि त्यही देखिनेछ।

संसदीय दलको निर्वाचनमा हारेपछि पनि पार्टी नेतृत्वमा यिनिहरुले नै दावी गर्छन्। परन्तु, ठूलै चमत्कार नभए राजनीतिक संस्कार र नैतिकता नभएका यस्ता नेताहरुबाट नेपालको राजनीति अझै केही वर्ष मुक्त हुने लक्षण छैन।

हाल देशैभर प्रमुख राजनीतिक दल प्रतिको वितृष्णाका कारण स्वतन्त्र उम्मेदवारको बाढी नै आएको छ। केहिले गत बैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा बाजि मारेभने केहिले आगामी मध्यावधि निर्वाचन बाजिमार्ने जमर्को गरिरहेका छन।

राजनीतिक दलका नेताहरू पनि धेरैजसो विफल भईसकेको तथ्य दोहोर्याई रहन नपर्ला। त्यसैले त बेलाबेलामा विचार र एजेन्डा मिल्नेहरु बिच एकताको दोहोरो हावा बग्ने गर्दछ।दर्शन ,सिद्धान्त र आदर्शको भाषण खोक्रीएका छन् मिठा र गुलिया भाषणले जनता बोक्रीएका छन् नेताहरुका झुठा ललिपपमा रित्तिएका छन।

उनीहरू नेपालीलाई मूर्ख ठान्छन् र आफ्ना स्वार्थ, सनक र लहड अनुसार देश र पार्टी चल्नुपर्ने घमण्डि तर्क पस्किन्छन्।उनीहरूलाई लाभ हुने अवस्थामा सामाजिक मूल्य र मान्यता, नीति-नियम र कानुन, सम्झौता र सहमतिका कुराहरु मिच्छन् कानुन र संविधानको धारा आफ्नो अनुकुल ब्याख्या गर्छन् ।

सडकमा गुन्जिने हरेक बिरोधका नाराहरु केवल सत्ताप्राप्तिका निम्ति मात्र थियो भन्ने कुरो सुर्य र चन्द्रमाको ज्योति बिना नै छर्लङ्ग भैसकेको छ।

नागरिकता सम्बन्धि विधेयक रास्ट्रपतिको कदमलाई आ-आफ्नै तरिकाले व्याख्या गरिएको छ।जिन्दावाद र मुर्दावादको नारा आफ्नै लागि लगाईएको छ।एकले अर्का प्रती गरिएको निशेधको राजनीतिलाई दुईलाइन संघर्ष भनिन्छ भने सोच्नुस यहाँ फेरि पनि बेकुफ बनाईदैछ।

ओलि प्रवृत्ति मात्रै होईन, माकुने, प्रचण्ड, बामदेव मात्रै पनि होईन कांग्रेसमा शेरबहादुर र जसपामा यादब र ठाकुर प्रवृत्ति सर्वसत्तावादको पराकाष्ठा भन्दा अत्युक्ति नहोला।

सिद्धान्त एकातिर मुन्टो अर्कोतिर फर्केको दक्षप्रजापतिको टाउको जस्तो भएका नेतृत्वहरुले अब पनि हामी सिंगापुर बनाउँछौं हामी समाजवाद ल्याउँछौं हामी साम्यवाद ल्याउँछौं भन्दा थपडी मार्छौं भने हामी २१औं शताब्दी तिर होईन १६औं शताब्दी तिर फर्किदैछौं।अब देशले यी प्रवृत्तिबाट निकास पाउन सक्दैन यो प्रमाणित भैसकेको छ।

कुर्सिकै निम्ति सालनाल र घाँटी जोडिएका माधव कुमार नेपाल कसरी ओलिसंग टाढिए बादल लेखराजहरु कसरी ओलिपथमा टाँसिए ?एकपटक स्वार्थ अभिप्रेरित निशेधको राजनीति मौलाएको देखिन्छ। स्थिर र स्थायित्व लेखियो मात्र ब्यवहारिक भएन। सर्वोच्च र संविधान पनि ब्यबहारिक बनेनन। अख्तियार र कुटनैतिक नियोगहरु निस्पक्ष रहेनन।

देश पुनः एकपटक अस्थिरताको चंगुलमा फसेको छ एउटा बिप्लव शान्त पारिए पनि अर्को बिप्लव जन्माईएको छ।शक्ति केन्द्रको गोलचक्करमा फनफनी घुमेको राजनीतिक संक्रमणको अन्त्य होस।
“म”वाद पतन भएर “हामी”वादको बिकास होस।
जय देश ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय