काठमाडौं / 
नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहित नेताहरूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि नेकपाले आपत्ति जनाएको छ।

नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आजका मितिसम्म हाम्रो पार्टी तीनबुँदे सहमतिको मर्म, वार्ता एवं सहमतिको माध्यम र शान्तिपूर्ण तरिकाप्रति दृढ छ र अक्षरशः लागू गरिराखेको छ। २ बुँदे सहमतिपछि ५ महिनासम्म चलेको ओली सरकारले यसलाई इमान्दारीताका साथ लागू गरेन। गठन भएको तेस्रो दिनमा वार्ता भई तीनबुँदे सहमति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको देउवा सरकारले पनि एक वर्षसम्म पटक पटक वार्ता गरे पनि लागू गरिराखेको छैन।’

सरकार देश र जनताको मुद्दामा प्रवेश नै नगरेको आरोप उनले लगाएका छन्। सरकारले अहिलेसम्म पार्टीका राजनीतिक बन्दीहरूलाई रिहा नगरेकोप्रति उनले असन्तुष्टि जनाएका छन्।

‘पार्टी, नेतृत्व, कार्यकर्ता र समर्थक जनताको नाममा ललितपुर जिल्ला अदालतले आज जारी गरेको पक्राउ पूर्जीको घटनाले त सरकार तथा राज्यका निकायहरू झुट्टा मुद्दा खारेज गर्ने र राजबन्दी रिहा गर्ने तीनबुँदे सहमतिको तेस्रो बुँदा लागू गर्नुपर्ने प्राथमिक कार्यकै विरुद्ध उत्रिएको प्रष्ट हुन्छ‚’ उनले भने, ‘राज्य र सरकार नेपाल कम्युनिस्ट पार्टीसँग गरिएको २ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने हर्कत गर्दैछ भन्ने कुराको पुष्टि भएको छ।’

पार्टी, नेतृत्व, कार्यकर्ता र तीनबुँदे सहमतिविरुद्ध सरकार र राज्यले आज घटाएको घटनालाई तुरुन्त रोकिएन र तीनबुँदे सहमति तदारुकताका साथ कार्यान्वयन गरिएन भने आफ्नो पार्टी हातमा दही जमाएर नबस्ने चेतावनी उनले दिएका छन्।

उनले चेतावनी दिँदै भनेका छन्, ‘यसबाट निम्तिने भावी गम्भीर अवस्थाको जिम्मेवार सरकार र राज्यका अधिकारी हुनुपर्नेछ। राज्यका सञ्चालकहरूले के कुरा राम्ररी बुझी राख्दा हुन्छ भने हाम्रो पार्टी एकीकृत जनक्रान्ति संवेदनशील प्रक्रियामा छ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x