मुक्तक १
नियतिले जिन्दगीको खुसी ,सपना हरेपछि
बल्ल कठै भन्न आउँछन् दु:ख गर्जो टरेपछि
ज्युँदो छँदा सहयोग गर्न पर्ला भनि भाग्नेहरु ,
फेसबुकतिर श्रदाञ्जली दिन आउँछन् मरेपछि।
मुक्तक २
दीनदु:खीको आत्मा मार्ने मेरो वचन तीर नबनोस् ।
दाजु भाईमा युद्ध गरि कोही नि यहाँ वीर नबनोस् ।
हिमाल जस्तै अटल रहोस् , उस्तै मिठो मुस्कान पनि,
बाँसको जस्तो झुकि राख्ने यो नेपालको शीर नबनोस् ।
मुक्तक ३
बाढी, पहिरो, भूकम्पले घरबार विहिन हुने धेरै छन् ।
मनका पिडा पोख्दै आज दैव तस्बिर छुने धेरै छन् ।
दु:ख पर्दा पराइ हुने आफ्नै भन्ने आफन्त नि ,
खाटो घाउलाई बल्झाएर घुँक्क-घुँक्क रुने धेरै छन् ।
मुक्तक ४
विना चस्मा केही नदेख्ने यी आँखाको नानी खराब छ ।
कुहिया फोहोर ढल मिसिएको वाग्मतीको पानी खराब छ ।
भोट देऊ भन्दै दुई हात जोड्छन् भ्रष्ट गद्दार राष्ट्रघाती ,
कुर्सी पाए’सी जनता भूल्ने एउटै यिनको बानी खराब छ ।
– ‘युद्दकवि’ देब के.सी.
शिवपुरी गाउँपालिका-1
नुवाकोट
