![](https://nuakotjagaran.com/wp-content/uploads/2022/07/inbound4073252908361191044.jpg)
नुवाकोट /
जिल्ला प्रहरी परिसर काठमाडौंले बीरबहादुर श्रेष्ठ र बुद्धवीर तामाङलाई चोरीको आरोपमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ ।३९ वर्षीय वीरबहादुर दोलखाको सैलुङ गाउँपालिका निवासी हुन् ।बुद्धवीर तामाङ भने नुवाकोट जिल्लाको विदुर नगरपालिका निवासी हुन् ।
प्रहरीका अनुसार उनीहरुमात्र होइन, दोलखाकै सैलुङ गाउँपालिका–८ घर भएका लिला नारायण श्रेष्ठ र पुन नारायण श्रेष्ठ पनि हिरासतमा छन् ।प्रहरीको रेकर्ड अनुसार वीरबहादुर २०६४ वैशाख–जेठबाट चोरीमा लागेका हुन्।
काठमाडौंको थलीमा बस्ने उनलाई प्रहरीले ‘व्यावसायिक चोर’को सूचीमा राखेको छ। श्रेष्ठका केही आफन्त पनि चोरीमा संलग्न रहेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ। २०६४ पछि उनले १७ ठाउँमा चोरेको अनुसन्धानबाट पुष्टि भएको प्रहरीको भनाइ छ ।
पटक–पटक चोरीको मुद्दा लड्दा मुद्दा प्रक्रियामै उनले लाखौं खर्च गरेका छन्। कानुन व्यवसायी नियुक्त गरेर मुद्दा लड्छन् ।उनले ३५ लाख ‘बैंक लोन’ (ऋण) लिएका छन् ।असार ९ मा पक्रेपछि अनुसन्धान अधिकृतले उनलाई सोधे, ‘चोर्ने बानी कहिले हट्छ ?’
बीरबहादुरले अनुसन्धान अधिकृतलाई जवाफ दिए– ३५ लाख लोन छ, त्यही लोन तिर्न चोरी छोड्न सकिनँ ।
२०६४ जेठमा चोरी मुद्दामा उनी ८० हजार धरौटी तिरेर जेलबाट छुटेका थिए। २०६७ मा लागुऔषधसहित पक्राउ परेका उनी २०७२ मंसिरमा जेलबाट रिहा भए। दोस्रोपटक जेलबाट रिहा भएपछि बीरबहादुरले ८ ठाउँमा चोरी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले बताए ।
बीरबहादुर विरुद्ध २०७३ असोज १२ मा काठमाडौं जिल्ला अदालतले १० लाख ३४ हजार धरौटी माग्ने आदेश गरेको थियो ।उनले सो धरौटी बुझाए ।२०७८ सालको अन्तिमतिर पनि उनी ३ लाख धरौटी तिरेर रिहा भएका हुन्। रिहा हुनासाथ उनले चोरी धन्दा सुरु गरिहाले ।राजेश भण्डारी/ रातोपाटी