धनगढी /
सुदूरपश्चिम प्रदेश सरकारका एक मन्त्रीले चियाबिस्कुट र चाउचाउका लागि समेत ‘तोक’ लगाएको खुलेको छ। प्रदेशका आर्थिक मामिला राज्यमन्त्री अमरबहादुर साउदले चियाबिस्कुट र चाउचाउका लागि कागजमा आफ्नो हस्ताक्षरसहित ‘तोक’ लगाएको खुलेको हो।
उनले ‘तोक’ लगाएको चिट अहिले सार्वजनिक भएको छ। कार्की चिया नास्ता पसललाई काटिएको उक्त चिटमा राज्यमन्त्री साउदले २५ पिस चाउचाउ, ४८ पिस बिस्कुट र पाँच कप चिया उल्लेख गरिएको छ। १२ असारमा मिति राखिएको उक्त चिटमा अर्थराज्यमन्त्री साउदको नाम अंकित छापसहित हस्ताक्षर समेत छ।


मन्त्रीले चियाका लागि समेत आफ्नो छाप प्रयोग गरेर चिट काटिएको भन्दै अहिले विरोध भैरहेको छ। यस विषयमा राज्यमन्त्री साउदले भने त्यो चिट वादी समुदायका अगुवालाई दिएको बताए।
उनले भने, ‘एक दिन मन्त्रालयमा अरु कोही नभएको अवस्थामा वादी समुदायका अगुवाहरु आए। उनीहरुले भोक लाग्यो भनेर भनेका थिए। सायद उहाँहरुलाई नै त्यो दिएको थिएँ।’ थाहा खबरबाट
