काठमाडौ /
नेकपा एकीकृत समाजवादी पार्टीबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय कार्यान्वयन नहुने भएको छ। एकीकृत समाजवादीका नेता तथा स्वास्थ्यमन्त्री विरोध खतिवडाले बजारबाट भएको निर्णय बजारमै सकिएको प्रतिक्रिया दिएका छन्।

छोटो समयका लागि मन्त्री हेरफेर गर्न नहुने प्रधानमन्त्री शेरबहादुर देउवाको अडानपछि तत्काल समाजवादीको निर्णय अलपत्र परेको हो।

atOptions = { 'key' : 'f9917186bd0575514f4e39cc9f88ea24', 'format' : 'iframe', 'height' : 60, 'width' : 468, 'params' : {} };

‘बजारमा चलेको हल्ला बजारमै सकियो,’ स्वास्थ्यमन्त्री विरोध खतिवडाले नेपालखबरसँग भने।

आइतबार पार्टी सचिवालय बैठक बसेर एकीकृत समाजवादी पुराना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय भएको थियो।

प्रधानमन्त्री कार्यालय स्रोतले भने देउवाका कारणले नभइ एकीकृत समाजवादीकै आन्तरिक कारणले अहिलेसम्म नयाँ मन्त्रीको नाम औपचारिक रुपमा प्राप्त नभएको बताएको छ।

स्रोतले भन्यो, ‘उहाँहरूकै आन्तरिक कारणले ‘होल्ड’ भएको हो। प्रधानमन्त्रीको कारणले रोकिने कुरै छैन।’

समाजवादीको आइतबार बसेको सचिवालय बैठकले आफ्ना ४ मन्त्रीलाई फिर्ता गरेर नयाँ नेतालाई जिम्मेवारी दिने निर्णय लिएको  थियो।

समाजवादीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा जीवनराम शर्मा, शहरी विकास मन्त्रीको रुपमा मेटमणि चौधरी, स्वास्थ्य तथा जनसंख्यामा मन्त्री भवानी खापुङ, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको रुपमा शेरबहादुर कुँवर र हीरा केसीलाई स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीको रुपमा सिफारिस गरेको थियो।

नयाँ मन्त्रीहरुले सोमबार दिउँसो शपथग्रहण गर्ने कार्यक्रम थियो। तर उनीहरुको नाम समाजवादीले प्रधानमन्त्रीलाई पनि दिन नसकेको हो। नयाँ मन्त्रीहरुको नाम प्रधानमन्त्रीको कार्यालय हुँदै  शीतल निवास नपुगेपछि शपथग्रहण पनि अनिश्चित भएको छ।

समाजवादीका मन्त्री हेरफेरलाई लिएर आन्तरिक विवाद भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच सोमबार बिहान बालुवाटारमा छलफल भएको थियो।

नयाँ मन्त्रीहरुको शपथमा ढिलाइ भइरहेका बेला तीन शीर्ष नेताबीच सोमबार बिहान करिब २ घण्टा बालुवाटारमा छलफल भएको हो।

छलफलमा केही समयका लागि मन्त्रिमण्डल हेरफेर गर्न आफू नचाहेको देउवाले बताएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

x