महोत्तरी/
जिल्लाको बर्दिबासस्थित खयरमाराको चुरे पहाडमा भीषण पहिरो गएको छ।बुधबार राति खयरमाराको भित्री बस्ती नजिकै तिनतलेबाट भिषण पहिरो खसेको हो ।
पहिरोले खयरमाराको खोला पुरेको छ भने वरपरको वस्ती जोखिममा परेका छन।पहिरोले खोला नै पुरेपछि छोडके, पिपलदमा, गुरुङ्ग खोला, चनौटे, गर्दिखोला, भाङग्रे झ्याउरे तथा खयरमाराको मुख्य बजारमा नै जोखिम हुन सक्ने स्थानीयहरूको भनाइ छ ।
बेमौसमी पहिरोले त्रसित बनाउने गरी ठूलो पहिरो गएपछि वर्षायाममा हुन सक्ने खतराबाट कसरी जोगिने भन्ने विषयमा स्थानीयहरुले चिन्ता लिइरहेको इशारा लामाले जानकारी दिए ।
अहिले खोलाबाट खयरमारा र बर्दिबास जाने बाटो बन्द भएको छ ।सडक सञ्जालको सुविधा नहुँदा खयरमारास्थित भित्री वस्तीका स्थानीयहरू खोलाबाट नै आवतजावत गर्दै आएका छन् ।
सुरुमा सानो पहिरो गएको भए पनि राति २ बजेबाट ठूलो पहिरो जान थालेको स्थानीयहरू बताउँछन् ।पहिरो गएको नजिक र वरपर मात्र करिब दुई सय घरधुरी बसोबास गर्दै आएका छन् ।
तराईमा पछिल्लो दुई दिनयता अत्याधिक बढेको तापक्रमका कारण पहिरो गएको हुन सक्ने वातावरणविद्हरूको अनुमान छ ।वातावरणविद नागदेव यादवका अनुसार चुरे पहाडमा रहेको खुकुलो चट्टानमा चिसो र तातोको सन्तुलन बन्न नसक्दा पहिरो जाने गर्दछ । रासस