
काठमाडौ /
अस्ट्रेलियामा सँगै बसेका पुरुष र महिला काठमाडौँमा आए ।साथीभाइ बोलाएर सामान्य ‘गेट टुगेदर’ गरे। अनि, बेहुला बेहुली जस्तै माला लगाएर फोटो खिचाए। त्यही फोटोका आधारमा एउटा जोडी अहिले ललितपुर प्रहरीमा बहु विवाहको मुद्दा खेपिरहेका छन् ।मुद्दा खेप्ने जोडी हुन, दिलबहादुर पुन र ममता खड्गी ।
रुपन्देही घर भएका ४१ वर्षका दिलबहादुरको पत्नीसँग राम्रो सम्बन्ध थिएन ।उनी अष्ट्रेलिया गए ।करिब १० वर्ष अस्ट्रेलियामा बस्दा उनले आफ्ना छोराछोरीलाई खर्च पठाउँथे ।श्रीमती माइत बस्थिन्, उनीसँग कुरा हुँदैन थियो ।
१० वर्ष अस्ट्रेलियामा बस्दा उनले त्यहीँकी एक महिलासँग विवाह गरे ।अस्ट्रेलियन सँग विवाह गरेपछि उनले त्यहाँको पिआर ‘पर्मानेन्ट रेसिडेन्सी’ पाए ।अस्ट्रेलियन महिलाले दुई सन्तान जन्माइन् ।ती महिलासँग पनि खटपट भएपछि उनी आफ्ना बच्चा लिएर छुट्टै बस्न थाले ।
त्यही बेला अस्ट्रेलियामा पढ्न गएकी ममता सँग उनको भेट भयो ।ममताले उनलाई ‘नक्कली विवाह’ गरेर आफूलाई पनि पीआएर मिलाइदिन आग्रह गरिन् । उनीहरू त्यही कामका लागि ०७८ फागुनमा काठमाडौँ आए।ललितपुरको ताल्छिखेल स्थित धराने सेकुवा कर्नरमा साथीभाइ बोलाएर खानपिन गरे। अनि, फोटो खिचाए ।सो फोटो सामाजिक सञ्जालमा भेटेपछि दिलबहादुरकी जेठी श्रीमतीले उजुरी गरिन् ।
पत्नीको उजुरीको आधारमा दिलबहादुर लाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (एसपी) सिद्धिविक्रम शाहले बताए ।उनले भने–‘बहुविवाह मुद्दामा दिल बहादुरलाई पक्राउ गरेका छौँ, महिला फरार छिन् ।’
नक्कली विवाह गर्दा दिलबहादुर पक्राउ परेपछि ललितपुर घर भएकी ममता फरार भएकी हुन् ।दुइ सातादेखि प्रहरी हिरासतमा रहेका दिलबहादुरको अनुसन्धान फाइल प्रहरीले सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरिरहेको छ ।Ratopati बाट।