ओखलढुंगा/
सोमबार बिहान १० बजेर २० मिनेट भएको थियो ।चम्पादेवी गाउँपालिका–३, कालिकास्थित बालज्योति माध्यमिक विद्यालयका विद्यार्थी नियमित प्रार्थनामा राष्ट्रियगान गाउँदै थिए ।
घटना विवरणअनुसार स्थानीय बालाज्योति माविमा कक्षा ८ मा अध्ययनरत ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ चित्रेकी विमला बोगटी गत सोमबार केही ढिलागरी विद्यालय पुगिन्।
त्यस दिन १६ वर्षीया उनीसहित १२ जना विद्यार्थी विद्यालय ढिला पुगेका थिए। यस क्रममा गेटमा बसेका विद्यालय कर्मचारीले किन ढिला आएको भन्दै रोके। अरू सबै एकएकवटा बहाना बनाएर विद्यालय छिर्न सफल भए, तर विमला अक्क न बक्क भइन्। त्यस क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु बुढाथोकीले पनि उनलाई थर्काए र गेटबाटै घर फर्काइदिए।
घरको कोठामा पसेको केही मिनेटमै चिच्याउँदै उनले बुबालाई बोलाइन् । बुबा पुग्दा उनले विष सेवन गरिसकेकी रहिछन् । ‘कारण सोध्दा स्कुलभित्र पस्न नपाएकाले दु:ख लागेको र आवेशमा आएर विष पिएको बताइन्,’ विमलाका बुबा खुर्कबहादुर बोगटीले भने, ‘त्यसपछि साबुनपानी बनाएर ख्वाएँ, घरेलु उपाय अपनाउँदै गाडी खोजेर ओखलढुंगा मिसन अस्पताल ल्याइयो । हिजो बिहान (मंगलबार) ११ बजेतिर छोरीको निधन भयो ।’ खुर्कबहादुरका अनुसार विमलाले तरकारी बालीमा लगाउने बुलेट ५०५ नामक कीटनाशक औषधि पिएकी थिइन् ।
घटनापछि खुर्कबहादुरले बुधबार जिल्ला प्रहरी कार्यालयमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीलाई प्रतिवादी बनाएर आत्महत्या दुरुत्साहनमा उजुरी दर्ता गरेका छन् । अध्यक्ष बुढाथोकीले गालीगलौज गर्दै स्कुल छिर्न नदिएपछि आत्महत्या गरेको आरोप लगाइएको छ । अध्यक्ष बुढाथोकीले आफूले ढिला आउने विद्यार्थीहरूलाई प्रार्थनाको समयमा छिर्न नदिएको स्विकारे । ‘प्रार्थनापछि मैले एकजना शिक्षक बोलाएर नाम टिपाउँदै भित्र छिर्ने अनुमति दिएको थिएँ,’ उनले भने, ‘त्यसअघि नै केही विद्यार्थी भाइबहिनी फर्किसक्नुभएको थियो । मैले गालीगलौज केही गरेको हैन । समयमा आउन निर्देशनमात्र दिएको हुँ ।’