
काठमाडौ /
निर्वाचन आयोगले आगामी वैशाख २० गते स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बुधबार धुलिखेलमा यस्तो बताएका हुन।।
आयोगले धुलिखेलमा बुधबारदेखि थालेको ‘निर्वाचन सञ्चालन र व्यवस्थापन सम्बन्धी पत्रकार महिलाहरूसँग कार्यशाला गोष्ठी’मा बोल्दै थपलियाले अहिलेका जनप्रतिनिधिको पाँच वर्षे अवधि पूरा हुन लागेकाले तयारी थालिएको बताएका छन्।
उनले आगामी २०७९ साल वैशाख २० गते ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी आयोग तयारीमा जुटिरहेको बताएका छन्।
स्थानीय सरकार रिक्त रहने विषय कल्पना गर्न नसकिने बताउँदै उनले समयावधि पनि थप गर्ने व्यवस्था संविधानमा नरहेकाले वैशाखमै निर्वाचन गरिने उल्लेख गरे।
वैशाखभित्रै स्थानीय तहको निर्वाचन गर्न ताजा जनादेशका साथ समयमै नयाँ जनप्रतिनिधि दिने विषयमा आयोग गम्भीर रहेको उनले बताएका छन्।
थपलियाले बहुदलीय व्यवस्थामा दल महत्वपूर्ण सरोकार हुने भएकाले राजनीतिक दलहरूको दर्ता, नियमन, विवाद निरुपण र निर्वाचन व्यवस्थापन तयारीमा आयोग लाग्ने बताए।
उनले निर्वाचनका क्रममा मतदानस्थल, मतदान केन्द्रको व्यवस्थापन गर्नुपर्ने भएकाले निर्वाचनलाई लक्षित गरेर विभिन्न नीति, रणनीति, आचारसंहिता कार्यान्वयनमा केन्द्रित रहेर गरिने काममध्ये अहिले गोष्ठी गरिएको बताए।
गोष्ठीमा छापा र टेलिभिजन लगायतका सञ्चारमाध्यममा कार्यरत २६ जना पत्रकार महिलाहरु सहभागी छन्।