आज (शनिबार) देखि भारतमा विकसित जवाद नामको चक्रवातको प्रभाव नेपालमा पर्ने भएकाले सतर्कताका लागि मौसम पूर्वाुनमान महाशाखाले विशेष बुलेटिन जारी गरेको छ।
अघि बिहान ७ बजे जारी विशेष बुलेटिनअनुसार बंगालको खाडीको मध्य–पश्चिम भूभागमा हिजो (शुक्रबार) जवाद नामको सामुद्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज बिहान भारतस्थित ओडिसाको तटीय क्षेत्रमा पुग्ने र त्यसपछि उत्तर उत्तर पूर्वतर्फ सर्ने देखिएको छ।
यो चक्रवातले नेपालमा खासै ठूलो प्रभाव पार्ने सम्भावना नरहे नि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं १, २ र बागमती प्रदेशमा आंशिकदेखि सामान्यसम्म बदली भई यी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपात तथा यी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ। बुलेटिनमा अगाडि भनिएको छ, ‘आउँदो सोमबारबाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ।’