टोखाको कोनेलाछीको उत्तरपट्टि सानु लाल श्रेष्ठको एउटा रातो चार तले घर छ । इन्द्र जात्राको दोस्रो दिन आइतबार घरभरि मान्छेको भिड थियो । दिउँसो २ बजेतिर चण्डेश्वरी भजन खलक अन्तर्गत्का सबै परिवारको उपस्थितिले घरमा जात्राको माहोल बढाएको छ ।
दिउँसो ३ बजे लाखे निस्कनुपर्ने भएकोले तयारी भ्याइनभ्याइ छ । त्यही भ्याइनभ्याइको बीच सबैको हेराइ रसनाको साहस र इच्छाशक्तिले भरिएको अनुहारतिर सोझिन्छ ।
झट्ट सुन्दा महिला पनि लाखे नाच्छन् र ? भन्ने धेरैलाई लाग्न सक्छ । तर १७ बर्षिय रसना श्रेष्ठटोखाकी तेस्री महिला लाखे हुन् । चण्डेश्वरी भजन खलकका सल्लाहकार विक्रम श्रेष्ठ यस अघि २ जना महिला लाखे भइसकेको भए पनि आमसञ्चारको माध्यमको पहुँच नभएकोले पर्याप्त प्रचार हुन नसकेको बताउँछन् । श्रेष्ठका अनुसार यो घटना करिब एक दशक अघिको थियो ।
रसनाको दोस्रो लाखे नाच
इन्द्रजात्राको दोस्रो दिन आइतबार रसनाले एक महिनाको अन्तरमै दोस्रो पटक लाखे नाच्दै थिइन् । पहिलो नाच कुनै पूर्वतयारी विना नै गाई जात्राको दिन नाचेकी थिइन् । पहिलो नाच सम्झिँदै उनी भन्छिन् ‘मलाई अचानक बुबाले बोलाउनु भयो, साथीहरूलाई भन्न पनि भ्याइनँ । तर यसपालि अलिक तयारी गर्ने मौका मिल्यो । ’
लाखे निस्कनुभन्दा करिब एक घण्टा अघि
अर्काे कोठाबाट कपडा लगाएर मुकुट लगाउने कोठामा पुग्छिन्, रसना । जुन कोठामा थकाली माइला श्रेष्ठ मुकुटको तयारी गर्दैछन्, चण्डेश्वरी भजन खलःका सल्लाहकार देवराज जोशी लाखेको अरु वस्त्रहरु तयार पार्दैछन् । त्यत्तिकैमा रसना प्रवेश गछ्र्रिन् । सबैको नजर उनको अनुहारतिर सोझिन्छ, आधा उत्साह र आधा डराएको भावमा रसनाले कसैलाई नहेरी क्यामेराको लेन्सतिर नजर दिन्छिन्, उनलाई थाहा छ क्यामेराको लेन्सले उनको अनुहारको भाव त खिच्दैन । तर पनि यो अनुभव उनको लागि पछिसम्म उत्प्रेरणाको स्रोत बन्न सक्छ । क्यामेराको लेन्सपट्टि मुस्कान दिएर उनी मुकुट लगाउने तयारीमा लाग्छिन् ।