नुवाकोट/
जिल्लाको किस्पाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव प्रसाद सापकोटा घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोग, कञ्चनपुरको कार्यालयमा अनुसन्धान अधिकृतको कार्यलयबाटै उनी एक लाख घुस रकमसहित पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार मुद्दा मिलाइदिन भन्दै आयोगको कार्यालयमा घुस रकमसहित पुगेका थिए।


अनुसन्धान अधिकृतसँग सापकोटाले आफ्नो स्वेच्छाले नै ल्याएको जवाफ दिएपछि शुक्रबार उनलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रवक्ता घिमिरेले बताएका छन्।
अछामको मल्लेख गाउँपालिकामा तत्कालीन प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुँदा मेसिनरी सामान खरिदसम्बन्धी उजुरी उनीमाथि परेको थियो।
त्यसबारे आरोपीहरूको बयानसमेत सम्पन्न भएर अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।सोही अनुसन्धानको कागजात पेश गर्न कञ्चनपुर पुगेका प्रशासकीय अधिकृत सापकोटाले एक लाख रकम घुस बोकेर पुगेका थिए।

