कांग्रेस र एमालेबिच नयाँ समीकरण बनाउने सहमति भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिक रूपमा अल्पमतमा परेका छन्। यद्यपि एमालेले अहिलेसम्म सरकारप्रतिको समर्थन फिर्ता लिइसकेको छैन भने आफ्ना मन्त्रीहरुलाई पनि फिर्ता बोलाइसकेको छैन।
प्रधानमन्त्री प्रचण्डले बुधबार बेलुकासम्म राजीनामा नगरे बिहीबार बिहान आफ्ना मन्त्रीहरूलाई एमालेले राजीनामा दिन लगाउने भएको छ।


मंगलबार बसेको एमाले सचिवालय बैठकले समीकरण फेरिएसँगै प्रधानमन्त्री प्रचण्डले जानेरै राजीनामा दिनसक्ने भन्दै बुधबार एक दिन उनलाई सोच्न समय दिने निष्कर्षमा पुगेको सचिवालयका एक सदस्यले जानकारी दिए।
बुधबार बेलुकासम्म पनि प्रधानमन्त्रीको राजीनामा नआएको अवस्थामा बिहीबार बिहान मन्त्रीहरूलाई राजीनामा दिन लगाउने सचिवालयले निर्णय गरेको उनले बताए।
‘एमालेकै सहयोगमा प्रधानमन्त्री बनाइएकाले पनि एमालेले त्यो विषय सोचेको हो। अर्को कुरा, राष्ट्रिय सहमतिको सरकार बनाउने प्रयासलाई पनि त्यसले सहयोग गर्छ भन्ने बुझाइ हो’, ती सदस्यको भनाइ छ।
