फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने भएको छ ।
फेसबुक मंगलबार गरेको नयाँ घोषणा अनुसार अब फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनभन्दा बढी समयसम्म सुरक्षित रहने छैनन् ।


यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म भण्डारण हुन्थ्यो ।यो नयाँ व्यवस्था बुधबारदेखि लागु हुनेछ।
फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ। सूचना पाएपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्पमा काम गर्न पाउनेछन्।
फेसबुकमा लाइभ गरिएका भिडियोहरूमा सुरुवाती केही हप्तापछि भ्यूज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले स्पष्ट पारेको छ।
‘तपाईंको सङ्ग्रहित लाइभ भिडियोहरू मेटिनु अघि, तपाईंलाई इमेल र एपमार्फत सूचित गरिनेछ, र त्यसपछि सामग्री डाउनलोड गर्न वा स्थानान्तरण गर्न तपाईंलाई ९० दिनको समय दिइनेछ,’ फेसबुक भनेको छ।
फेसबुकका अनुसार, यदि प्रयोगकर्ताहरूले तोकिएको अवधिमा पुराना लाइभ भिडियोहरू डाउनलोड वा अन्य विकल्पमा काम नगरेर स्वतः मेटिनेछन् । यसरी मेटिइसकेपछि प्रयोगकर्ताले पुनः त्यो भिडियो स्टोर गर्न सक्ने छैनन्।
फेसबुकले ‘अतिरिक्त छ महिनाका लागि मेटाउने प्रक्रिया स्थगित गर्ने विकल्प’ प्रदान गर्ने बताएको छ। त्यस अवधिमा पनि प्रयोगकर्ताले कुनै निर्णय नगरेमा पुराना भिडियोहरू स्वतः मेटिने मेटाले जनाएको हो।
