आज विश्वकर्मा पूजा भगवान विश्वकर्माको पूजा गरेर मनाइँदैछ। कालीगढले विश्वकर्माको पूजा आराधना गरी आज वास्तु दिवस एवं विश्वकर्मा पूजा एकैसाथ मनाइरहेका छन्।

प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ। कलकारखानालाई विशेष रुपमा सजाएर मजदुर समेतलाई सहभागी गराएर यो दिवस मनाइन्छ।

बालुवा वा अन्य वस्तुबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्धस्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरिएका मस्र्त तथा तस्वीर बुधबारदेखि नदीमा लगी सेलाइन्छ।

आजका दिन कालीगढले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिनेलगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ।

द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ। एकैरातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको हो।

प्राचीन भारत वर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ। विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रबीचमा रहेको विश्वास गरिन्छ। विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रुपमा मानिन्छ। ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु शास्त्रको ग्रन्थ उहाँले नै रचना गर्नुभएको विश्वास गरिन्छ।

यही सम्झनामा नेपालका कालीगढले आज भव्यरुपमा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्छन्। यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ। यस विश्वासमा आज इञ्जिन जडान भएका यन्त्र सवारी साधनसमेतमा पूजा आराधना गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय