नुवाकोट /
शिशुका लागि आमाको दुधमा जत्तिको शक्तिशाली पोेषण तत्त्व कुनै पनि प्रतिस्थापित खानामा पाइँदैन। तर नेपालमा यसको सट्टा आफ्नो शिशुलाई जन्मेको ६ महिनासम्म पूर्ण स्तनपान नगराउनेमा शिक्षित आमाहरू नै धेरै देखिएका छन्।
माध्यमिक तहभन्दा माथि पढेका ४४ प्रतिशतभन्दा बढी आमाहरूले पूर्ण स्तनपान नगरेको पाइएको छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ को तथ्यांकअनुसार उच्च आय भएका शिक्षित महिलाहरूले पूर्ण स्तनपान नगराएको पाइएको हो।
विश्व स्तनपान दिवसको पूर्वसन्ध्यामा परिवार कल्याण महाशाखा पोषण शाखाले नेपालमा पूर्ण स्तनपान गराउने आमाको संख्या घट्दै गएको औंल्याएको हो।
यो तथ्यांकको तुलनामा न्यून आय भएका शैक्षिक दर कम भएका ६४ प्रतिशत आमाहरूले पूर्ण स्तनपान गरेको तथ्यांकले औंल्याएको छ। सबैभन्दा बढी कर्णालीमा ७४ प्रतिशत आमाले पूर्ण स्तनपान गराउने गरेका छन्।
त्यसैगरी लुम्बिनी प्रदेशका आमाहरू पूर्णस्तनपान गराउनेमा सबैभन्दा कम पर्छन्। लुम्बिनीमा पूर्ण स्तनपान गराउने आमाको संख्या ३६ प्रतिशत छ। तथ्यांकअनुसार शिशु जन्मेको एक घण्टाभित्रै स्तनपान गराउने आमाको संख्या ५५ प्रतिशत छ। शिशु जन्मेको दुई वर्षसम्म स्तनपान गराउने आमाको संख्या ९४ प्रतिशत पुगेको छ। शिशुलाई बोतलको दुध खुवाउने आमाको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा ४३ प्रतिशत छ र कर्णालीमा सबैभन्दा कम ११ प्रतिशत छ।
परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख लीलाविक्रम थापाका अनुसार पूर्ण स्तनपान गरेका शिशुहरूमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढी हुन्छ। जसका कारण शिशुको शारीरिक तथा मानसिक विकास हुन्छ। मोटोपना तथा पुड्कोपना हुनबाट उनीहरू जोगिन्छन्।
स्तनपान गराउने आमाहरूमा स्तन तथा पाठेघरको क्यान्सर हुने जोखिमसमेत कम हुन्छ। स्तनपान गराए सुत्केरीपछिको रक्तश्राव रोकिने र पाठेघर छिटो सामान्य अवस्थामा फर्किने हुन्छ। शिशु जन्मेको ६ महिनासम्म शिशुलार्ई पुग्ने पौष्टिक आहार आमाको दुधमा नै पाइने भएकाले त्यसउता मात्र आमाको दुधसँगै अन्य आहार खुवाउन सकिन्छ। तर यसको सट्टा बजारमा पाइने प्रतिस्थापित बोतल तथा बट्टाका खानेकुराबाट शिशुको स्वास्थ्यमा उल्टो हानि पुर्याउँछ। ‘कृत्रिम दुध तथा खाना खाएका शिशुभन्दा आमाको दुध खाएका शिशुको बौद्धिक विकास राम्रो हुन्छ,’ उनले भने।
प्रतिस्थापित खानेकुराले शिशुमा पछि गएर मोटोपना, मधुमेहलगायत नसर्ने रोेगहरू लाग्न सक्ने अध्ययनहरूले देखाएका छन्। यस्ता खानाले शिशुमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी रुग्णता भई मृत्युसमेत हुन सक्छ। जन्मेको एक घण्टाभित्र आमाको दुध खुवाए ३३ प्रतिशत नवजात शिशुको मृत्युलाई रोक्न सकिने विश्व स्वास्थ्य संगठनले पुष्टि गरेको छ।
नेपालले पूर्ण स्तनपानका लागि २०४९ साल अर्थात् ३३ वर्षदेखि विभिन्न प्रयास गर्दै आएकोमा पछिल्लो समय घट्दै जानुले स्वस्थ शिशु र दिगो विकास लक्ष्यका लागि चुनौती बनेको परिवार कल्याण महाशाखा पोषण शाखाका प्रमुख थापाले बताए।
उनका अनुसार सन् २००६ पूर्ण स्तनपान गराउने आमाको संंख्या ७० प्रतिशत थियो भने त्यसयता घट्दै आएको हो। ‘पूर्ण स्तनपान गराउनेको संख्या उकालो लाग्नुपर्नेमा उल्टो भयो,’ उनले भने।
पूर्ण स्तनपान कम गराउनेमा पढेलेखेका र उच्च आय भएका आमाहरू नै बढी हुुनुको पछि बहुआयामिक कारण रहेको थापा बताउँछन्। उनको विचारमा डिजिटल मिडियाबाट प्रभावित हुनु, स्तनपान गरे आमाको शारीरिक सौन्दर्य बिग्रिन्छ भन्ने भ्रम रहनु, शिशुका लागि बजारमा सहज रूपमा पाइने प्रतिस्थापन खानेकुराको प्रचार धेरै हुनु मुख्य देखिन्छ। साथै महिलाहरू घरबाहिरकोे काममा सहभागी हुनुले पनि पूर्ण स्तनपान घटेको देखिन्छ। ‘कामकाजी महिलाहरू सुत्केरी भएको ६ नपुगी काममा फर्किंदा पनि पूर्ण स्तनपान गराउन सक्दैनन्,’ उनले भने।
पूर्ण स्तनपानको पछिल्लो तथ्यांकले सरकारको लक्ष्यमाथि नै चुनौती बनेको परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले बताए। ‘मुख्य कुरा शिक्षित आमाहरूबाटै पूर्ण स्तनपान नहुनु यो अभियानको चुनौती हो,’ डा. लालले भने।