नुवाकोट/
जिल्लामा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ। २०८० साउनदेखि २०८१ असारसम्म सडक दुर्घटनाबाट १२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको हो।
दुर्घटनामा परी मृत्यु हुनेमा ९ पुरुष र ३ महिला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख जेजंग कार्कीले जानकारी दिए।


सो अवधिमा ८८ सवारीसाधन दुर्घटनामा परेका थिए। ती दुर्घटनामा परी एकसय ७१ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख कार्कीले नुवाकोट जागरणलाई बताए।
‘सवारी दुर्घटना कम गर्न जति काम गरे पनि प्रभावकारी देखिएको छैन,’ प्रमुख कार्कीले भने। जिल्लामा गत आवमा ७९ सवारीसाधन दुर्घटनामा परेका थिए।
आर्थिक वर्ष ०७८÷७९ र ०७९÷८० मा नुवाकोटमा सवारी र्दुघटनामा परी समान १४÷१४ जनाको मृत्यु भएको थियो भने आर्थिक वर्ष ०७७÷७८ मा ११ जनाको मृत्यु भएको थियो।
नुवाकोटमा पछिल्लो समय सडक र्दुघटना बढीरहेको भन्दै सरोकारवाहरुले समेत चिन्ता व्यक्त गरेका छन्।
