असार १५ अर्थात् राष्ट्रिय धान दिवस नेपाली किसानहरुको महत्वपूर्ण पर्व हो। नेपालका किसान संघ-संगठनहरुले यसलाई किसान दिवसको रुपमा लामो समयदेखि मनाउँदै आएका छन् ।२ दशकदेखि नेपाल सरकारले यस दिनलाई औपचारिक रुपमा धान दिवस घोषणा गरी मनाउन थालेपछि त यस दिनले थप चर्चा-परिचर्चा पाउने गरेको छ ।
नेपालको मुख्य खाद्य वाली धान नेपालको इतिहास, यहाँको सभ्यता र संस्कृतिसँग गाँसिनुका साथै जीवनयापनको अभिन्न अंग रहेकाले हुनपर्छअसार १५ वा धान दिवस एक उत्सवका रुपमा रहेको छ।
धानसँग सम्बन्धित विविध विषयलाई उजागर गर्नुका साथै यसको महत्वलाई दर्शाउन तथा सबैकाे ध्यान किसानतर्फ आकर्षित गर्न सक्नुपर्छ भन्ने अभिप्रायले हुनुपर्छ नेपाललगायत एसियाका विभिन्न देशमा धान बचाऔं अभियान सशक्त रुपमा अगाडि बढ्दैछ।
असार १५ वर्षाको सुरुवात्, मुख्य वाली धानको रोपाइँका साथै हाम्रो संस्कृति र सभ्यतासँग गाँसिएको महत्वपूर्ण दिन हो । यस दिनदेखि किसानहरु वर्षाको सुरुवात् भएको, आफ्ना कामको चाँपका दिन आएका, अनि समाजको प्रतिष्ठासँग जोडिएको सबैभन्दा मिठोमानीले खाद्यान्न धानको रोपाइँमा लाग्छन् ।त्यही रोपाइँमा लाग्दाको खुशी र आनन्द अभिव्यक्त गर्ने एक सांकेतिक र सांस्कृतिक पर्व असार पन्ध्र बनेको छ।
अहिले कृषि छाडेर जहाँ भए पनि हामीमध्ये धेरैको मानसपटमा वालापन वा युवा अवस्थाका मीठा सम्झनाहरु नविर्सने गरी रहेका छन्। त्यो दिन दहि र चिउरा नखाएको, हिलोमा नखेलेको या रोपाई गीत नगाएको हामीमध्ये कमै हुनुपर्छ। त्यसैले त कृषकहरुको बाहुल्यता भएको नेपालमा अझै पनि असार १५ को रौनकता र चर्चा किसानमा मात्र सीमीत नभई सम्पूर्ण नेपालीमा छाउने गरेको छ।
तर, समय परिवर्तन भएको छ। त्यो रौनक, आनन्द र महिमा कम हुँदै छ। खेतिसँग गाँसिएको जनसंख्या घट्दो छ। खेति किसानीमा रमाउने र रोपाइगर्दैको बेला वाली भित्राउने समय सम्झदै रमाउने माहोल पनि कम भएको छ। धानको महत्व र भातलाई प्रतिष्ठा मान्ने प्रचलन पनि हट्दै छ । अझ असारे भाका, हिलो खेल्न र दहि चिउरा खान रमाउने प्रचलन पनि कम हुँदै छ।