आज वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं मनाइँदैछ। यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो ।

एक वर्षमा मनाइने ४ किसिमको दशैं आफैँमा ठूलो र छुट्टै महत्वको हुन्छ। तर पनि समाजमा हुने आस्थाका आधारमा यसलाई शारदीय नवरात्र पछिको दशैंको रूपमा मान्यता दिने गरिन्छ। बाँकी २ किसिमका दशैं भने आफैँमा विलुप्तप्राय: छन् ।

मध्यकालीन नेपालमा ४ किमिसको दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो। यी दशैंहरूमध्ये अहिले प्रचलनमा रहेको शारदीय र वसन्तीय नवरात्रबाहेक पनि आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र अहिले लोपोन्मुख अवस्थामा छ। तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन् ।जसमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविदहरु बताउँछन् ।

चैत्र शुक्ल पक्षको १० दिन चैते दशैं भनेर मनाउने गरिन्छ। जुन शारदीय नवरात्रको तुलनामा अत्यन्त कम महत्वको पर्व हो। तर, यसरी नै कम महत्वपूर्ण हुँदाहुँदै अस्तित्वविहीन बनेका दुई वटा गुप्त नवरात्रका बारेमा भने धेरै बेखबर छन्। यद्यपि अहिलेसम्म पनि अत्यन्त नियममा रहने तान्त्रिकहरूले भने नियमित चारै किसिमको दशैं मनाउने गर्छन् ।

अहिले पनि सात्विक पञ्चबली मानेर कुभिण्डोलाई राँगाको प्रतीक, बिमिरोलाई बोकाको प्रतीक, उखुलाई कुखुराको प्रतीक, अदुवालाई हाँसको प्रतीक र मुलालाई भेडाको प्रतीकको रूपमा चढाउने गरिन्छ। शर्माका अनुसार राष्ट्रिय अभिलेखालयमा रहेका विभिन्न प्रमाणहरूको आधारमा मध्यकालमा चारवटै दशैं धुमधामका साथ मनाउने गरिएको साहित्यिक प्रमाण पाउन सकिन्छ।

‘राष्ट्रिय अभिलेखालयमा रहेका पुष्पिका वाक्यहरूमा शारदीय नवरात्र, ग्रीष्मकालीन नवरात्र, वसन्तीय नवरात्र र शिशिरकालीन नवरात्र र त्यसक्रममा भएका विभिन्न गतिविधिको उल्लेख पाइन्छ। यसले मध्यकालमा सर्वसाधारणले समेत धुमधामका साथ चारवटै दशैं मनाउने गरेको प्रमाण दिन्छ।’

के–के हुन्छ चार दशैंमा फरक ?

मध्यकालमा मनाइने चारवटा दशैंका बीचमा ठूलो फरक नभए पनि त्यसको विधि र प्रक्रियामा भने केही भिन्नता देखिन्छ। अहिले जस्तो बाह्रमासे फलफूलको व्यवस्था त्यतिबेला थिएन । जसका कारण सिजन अनुसारको फलफूलको प्रयोग गर्ने, पूजा र बली चढाउने विधि आदिमा पनि चारै दशैंमा भिन्नता थियो।

मध्यकालमा वर्णाश्रम व्यवस्थाको प्रचुर प्रयोग भएकोले दशैंलाई पनि भिन्नभिन्न वर्णअनुसार फरक–फरक विधिले मनाउने गरिएको थियो ।असार महिनामा मनाइने नवरात्र विशेषगरी ब्राह्मणहरूको मौलिक विधि अनुसार मनाउने गरिन्थ्यो । यसको अर्थ ब्राह्मणले मात्र मनाउने दशैं नभएर बली दिने क्रममा ब्राह्मण विधिबाट दिने, पूजा शैली आदिलाई पनि ब्राह्मण विधिबाट मनाउने गरिएको थियो।

त्यस्तै, आश्विन शुक्ल पक्षमा मनाइने नवरात्र क्षत्रीय विधिबाट, शिशिरकालीन नवरात्र वैश्य विधिबाट र चैत्र शुक्लमा मनाइने नवरात्र शुद्र विधिबाट मनाउने गरिन्थ्यो। जस्तो– बली सबै नवरात्रमा दिने गरिन्थ्यो भने ब्राह्मण विधि अर्थात् असार महिनामा मनाइने नवरात्रको बलीमा तरबारको प्रयोग गरिँदैन’थ्यो । तर, शारदीय नवरात्रमा भने तरबारको प्रयोग अनिवार्य थियो।

पूर्वराजा वीरेन्द्रका पालासम्म पनि गोरखामा शारदीय नवरात्रमा ब्राह्मण पुजारीलाई तरबारले बली दिन लगाइन्थ्यो। यसले शारदीय नवरात्रमा ब्राह्मणले पनि क्षत्रीय विधिबाट दशैं मनाउने गरेको पुष्टि हुने संस्कृतविद बताउँछन् ।

चैते दशैंमा पनि नवदूर्गाकै पूजा

चारवटै दशैंमा पूजा भने नवदूर्गाकै गर्ने गरिन्छ। नवरात्रको पहिलो दिन दशैंघरमा घटस्थापना गरेर जौ (कतै मकै र धान पनि थप गरेर) छरिन्छ। आठ किसिमका अष्टमात्रिका पनि भिन्दाभिन्दै किसिमका हुन्छन् ।धेरैले शैलपुत्र्यादी नवदूर्गाको बढी पूजा गर्छन् ।यो चारैवटा दशैंमा पूजा हुने देवी स्वरूप हो। यी सबै पूजा तान्त्रिक विधिबाट गरिन्छ।

ज्योतिष शास्त्रअनुसार शुक्लपक्ष भनेको बिहान हो र कृष्ण पक्ष भनेको राति हो। यी सबै किसिमका दशैंहरू शुक्लपक्षमा नै मनाउने गरिन्छ। कालरात्रि पूजाबाहेक अरू सबै पूजा दिउँसोमा हुनुको संकेत पनि यी सबै उज्यालोको संकेत हो भन्ने मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय